बुटवलका स्व. खेम पुनको स्मृतिमा छोरी शिक्षा कार्यक्रम

श्यामलाल पोखरेल
बुटवल, असोज १० गते । खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानले छोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुटवलका उद्योगी व्यवसायी तथा समाजसेवी स्व. खेम पुनको स्मृतिमा स्थापना गरिएको खेम –ओमिपुन कल्याणकारी प्रतिष्ठानले छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि प्रकृया शुरु गरेको छ ।
आउने शैक्षिक सत्रदेखि छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि खेम–ओमिपुन कल्याणकारी प्रतिष्ठान र रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिंगानगरमा सञ्चालित जेष्ठ नागरिक मिलन केन्द्रबीच सम्झौता भएको हो ।
सोमबार एक कार्यक्रमको आयोजना गरी खेम –ओमिपुन कल्याणकारी प्रतिष्ठानकी अध्यक्ष ओमीकला पुन र जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेबीच छोरी शिक्षा कार्यक्रमका लागि भवन निर्माण र कार्यविधिबारे लिखित सम्झौता गरिएको छ ।
तिलोत्तमा नगरपालिकाको डिंगानरस्थित श्रीङगेश्वर धाम परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको आन्नद भवनमा चौथो तला निर्माण गरी छोरी शिक्षा कार्यक्रम सञ्चालन गरिने छ । छोरी शिक्षा कार्यक्रमका लागि भवन बनाइने छ ।
शुरुमा २० जना छोरीहरुलाई पढाइदेखि सबै खर्च प्रतिष्ठानले ब्यहोर्ने छ । पढन् मन भएका तर आर्थिक अभावले शिक्षाबाट बन्चित भएका छोरीहरुलाई निःशुल्क पढाउने प्रतिष्ठानको लक्ष्य रहेको छ ।
स्व. खेम पुनका अधुरा कामहरु पुरा गर्नका लागि शिक्षाबाट बन्चित गरिब तथा जेहेन्दार छोरीहरुलाई पढाउनका लागि छोरी शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष ओमीकला पुनले बताईन ।
स्व. खेम पुनकी श्रीमती ओमीकला पुनले पहिलो चरणमा २० जना छोरीहरुहरुलाई पढाउने र आवश्यक अनुसार संख्या बढाएर पढ्न इच्छा गरेका छोरीहरुलाई उच्च शिक्षासमेत पढाउने लक्ष्य रहेको बताइन ।
शिक्षाको पहुंचमा पुग्न नसकेका गरिब परिवारका छोरीहरुलाई शिक्षा दिएर समाजमा स्थापित गर्ने प्रतिष्ठानको उद्वेश्य अनुसार छोरी शिक्षा कार्यक्रम चलाउन लागिएको शरिता श्रीषको भनाइ छ ।
यो व्यवस्थाले छोरीहरुलाई अधिकार दिने भनेपनि छोरी मान्छे त्यसैमाथि गरिब परिवारका छोरीहरु समाजमा स्थापित हुन नसकेकाले अधिकारमुखि बनाउनका लागि पनि छोरी शिक्षा कार्यक्रम प्रभावकारी बन्ने उनको तर्क छ ।
छोरी शिक्षा कार्यक्रम नयां र नमुना काम भएकाले जष्ेठ नागकिर मिलन केन्द्रले सहयोग गर्ने केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले प्रतिवद्वता जाहेर गरेका छन् ।
राज्यले गर्नुपर्ने काम एउटा घरपरिवारले आंटेकाले समाजका सबैले साथ सहयोग दिएर छोरी शिक्षा कार्यक्रम सफल बनाउन हरेक नागरिकको दायित्व रहेको मिलन केनद्रका अध्यष पाण्डेले बताए ।
श्रीङेश्वर धामका अध्यक्ष ऋषी भण्डारीले रुपन्देहीका लागि छोरी शिक्षा कार्यक्रम नौलो भएपनि यो कार्यक्रम सफल भए शिक्षाबाट बन्चित भएका गरिब परिवारका थुप्रै छोरीहरुले पढ्न पाउने बताए ।
डाक्टर नारायण पन्थ, लेखक तथा साहित्यकार पुरुषेतत्तम पाण्डेय, पत्रकार खिमानन्द भट्टराई, सुमित्रा शर्मा लगायतले छोरी शिक्षा कार्यक्रम सफल बनाउन पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्वता जनाउनुभएको छ । अबको दुई महिना भित्र भवन निर्माण गरी छोरी शिक्षा कार्यक्रम सुरु गर्ने तयारी शुरु गरिएको छ ।
छोरी शिक्षा कार्यक्रम सञ्चालनका लागि खर्चको आधारमा खेम–ओमिपुन कल्याणकारी प्रतिष्ठानको नामबाट आवश्यक अनुसार अक्षयकोष स्थापना गर्ने स्व. खेम पुनका छोरा राजु प्रतिवद्वता जनाएका छन् ।
२०७८ माघ २५ गते ५९ वर्षको उमेर खेम पुनको निधन भएपछि स्व. खेम पुनको स्मृतिमा खेम–ओमिपुन कल्याणकारी प्रतिष्ठान स्थापना गरिएको हो । स्व. खेम पुन राजनीतिक रुपमा पनि सक्रिय थिए । मिजासिला र सहयोगी भावनाका स्व. खेम पुनको नाममा अहिले पुन परिवार समाज सेवामा लागेको छ ।