बैंकको चर्को व्याजदर नघटे बिद्रोह गर्ने उद्योगी व्यवसायीको चेतावनी

श्यामलाल पोखरेल
बुटवल, असोज ३१ गते। रुपन्देहीका उद्योगी व्यवसायीले बैंकको व्याजदर घटाउन सरकारसंग माग गरेका छन् ।
आठ प्रतिशतमा ल्याएको ऋणको व्याज अहिले १६ प्रतिशत भएकाले बैंककोे चर्को व्याजदर तत्काल घटाउनु पर्ने उद्योगी व्यवसायीले बताएका छन् ।रुपन्देही उद्योग संघको सोमबार सम्पन्न ४४ औं वार्षिक साधारण सभामा बोल्ने उद्योगी व्यवसायीले सरकारले चर्को व्याजदर नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सरकारले नीजि क्षेत्र तथा उद्योगी व्यवसायीका समस्या बुझ्न नसकेको र राजनीतिक दलले जिम्मेवारी पुरा गर्न नसकेकाले देशको अर्थतन्त्र कमजोर भएको बताए ।
सरकारको गैरजिम्मेवार व्यवहार र बैंकहरुकोे चर्को व्याज तिरेर उद्योगहरु जोगाउन नसकिने उद्योगी वयवसायीको गुनासो छ ।देशको आर्थिक मेरुदण्डको रुपमा रहेको नीजि क्षेत्रका समस्यालाई सरकारले बुझ्न नसकेकाले उद्योगी व्यवसायी पलायनको अवस्थामा पुगेको संघका अध्यक्ष माधवप्रसाद पौडेलले बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले नीजि क्षेत्र सफल भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताए । अर्थतन्त्रको मेरदण्डको रुपमा रहेको नीजि क्षेत्रलाई सरकार र राजनीतिक दलले बुझ्न नसकेकाले आज नेपालको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको उनको भनाइ छ ।
दैनिक रुपमा बढेको चर्को व्याज तिरेर अब उद्योगी व्यवसायीले उद्योगहरु धान्न नसक्ने बताउंदै चर्को व्याजदर नघटाए बैंकका विरुद्व विद्रोह गर्ने चेतावनी दिंदै उनले भने – नेपाल राष्ट्र बैंकको कार्यविधि नीजि क्षेत्रका लागि बाधक छ ।
नेपाल राष्ट्र बैंकले मनोमानी गर्दा उद्योगी व्यवसायी मारमा परेको बताउंदै उनले भने – सरकारले उद्योगी व्यवसायीलाई साथ दिएन ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योगी व्यवसायिका समस्या राज्यतहबाट समाधान गरिनुपर्ने बताए ।
  स्थानीय सरकार उद्योगीमैत्री र व्यवसायिक बन्नु पर्नेमा जोड दिदै उनले भने बुटवल उपमहानगरपालिका उद्योगी वयवसायीमैत्री बन्ने र त्यसका लागि सबै उद्योगी व्यवसायीसंग बसेर साझा कार्याक्रम र योजना बनाउन तयार रहेको प्रतिवद्वता जनाए ।

रुपन्देही प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले खुल्ला सीमनाका कारण भन्सार छलेर नेपाल भित्राउने समान रोक्नु पर्ने र त्यसका लागि नीजि क्षेत्रका व्यवसायीको सहयोग चाहिने बताए ।
रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले उद्योगीहरुले उद्योगहरु बचाउन चाहेपनि बैंकको चर्को व्याजले उद्योगहरु बचाउन नसकिने अवस्था सिर्जना भएको बताए ।
व्याज बढाइरहने बैंकहरुलाई नेपाल राष्ट्र बैंकले संरक्षण गरेको बताउंदै बैंकहरुका बिरुद्व आन्दोलनमा उत्रनुको विकल्प छैन भने ।
कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ सचिव नेत्रप्रसाद सुवेदी, नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय भैरहवाका निर्देशक रञ्जना पौडेल, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्मा, नेपाल चेम्बर अफ कर्मश लुम्बिनीका संयोजक टंक पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेजकुमार पाठक, गणेश अधिकारी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल लगायतले बोल्दै हरेक क्षेत्रमा आर्थिक मन्दी हुंदै गएकाले यस विषयमा सरकार र नेपाल राष्ट्र बैंकलाई गम्भीर बन्न आग्रह गरेका छन् ।
संघका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाको स्वागत र महासचिव हरिबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कृष्ण पराजुली धन्यवाद ज्ञापन गरेका थिए ।
संघका अध्यक्ष माधव पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए, भने कोषाध्यक्ष हिरामणि भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको खुल्ला कार्यक्रम सम्पन्न भएपछि बन्दसत्र भएको संघका कार्यकारी प्रमुख यादव भण्डारीले जानकारी गराएका छन् ।