रुपन्देहीका साहित्यकार ऋषिराम भुसाल सम्मानित

श्यामलाल पोखरेल
बुटवल, कार्तिक १५ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औ जन्मजयन्तीको अवसरमा लेखक तथा साहित्यकारलाई सम्मान गरिएको छ ।विश्वहिन्दु महासंघ, नवजागृति पुस्तकालय, शिवकुमारी सैंजु वृद्वाश्रम, नवजागृति बहुउद्वेश्य सामाजिक भवन ट्रष्ट बुटवलले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी रुपन्देही तिलोत्तमाका लेखक तथा साहित्यकार ऋषिराम भुसाललाई सम्मान गरिएको हो । 
माधव निर्मला मास्केले स्थापना गर्नुभएको रु पांच लाखको पुरस्कारबाट लेखक तथा साहित्यकार भुसाललाई २५ हजारसहित सम्मान पत्रले मंगलबार बुटवलमा सम्मान गरिएको हो ।
सोही कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर कृष्णचन्द्र शर्माले मानव समाजका लागि साहित्य अभिन्न अंग भएको बताए। साहित्यकोे क्षेत्रबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले विश्वमा नेपाललाई चिनाउनु भएको उल्लेख गर्दै साहित्य र लेखनको क्षेत्रलाई पराकिलो बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवाली, विश्वहिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष तथा अधिवक्ता बेनबहादुर पौडेल क्षेत्री, उपप्राध्यापक शालिकराम पौडेल, पत्रकार बालकृष्ण चापागाईं, अम्बिका पौडेल क्षेत्री लगायतले बोल्नुभएको थियो ।
विश्व हिन्दु महासंघ रुपनदेही अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षता र उर्मिला श्रेष्ठको सञ्चालनमा भएको उक्त कार्यक्रममा साहित्यकार डा. लक्ष्मी कोपिला र रञ्जु गौतम,घिमिरेले कविता वाचन गरेका थिए ।
मंगलबार नै विश्वहिन्दु महासंघ, नवजागृति पुस्तकालय, शिवकुमारी सैंजु वृद्वाश्रम, नवजागृति बहुउद्वेश्य सामाजिक भवन ट्रष्ट बुटवलको मासिक रुपमा हुने संयुक्त बैठकसमेत सम्पन्न भएको छ ।
सम्मानित लेखक तथा साहित्यकार ऋषिराम भुसाल बुटवल बहुमुखि क्याम्पसका सहप्राध्यापक हुन् ।
उनले रुपन्देहीलाई कर्मलथो बनाएर बिगत लामो समयदेखि नेपाली साहित्यमा कलम चलाउंदै र पढाउंदै आएका छन् ।