हरिबोधनी एकादशी मनाइयो

बुटवल, कार्तिक १८ गते । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइएको छ ।
असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको विवाह गरी मनाइने परम्परा छ ।
हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ ।

एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन । अशाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ ।
विष्णु ऋषी सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङगलिक कार्य गर्न नहुने मान्यता छ ।
हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूंझिएको धार्मिक कथन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।
हरिबोधिनी एकादशीका दिन घर घरमा पूजा गर्दै आएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिंगारी फूल मालाले सजाएर विवाह गरिने चलन छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन भन्ने धार्मिक विश्वास छ । तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ ।