लुम्बिनीमा एमाले अगाडी, प्रतिनिधि सभाका २६ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

बुटवल, मंसिर १० गते । लुम्बिनी प्रदेशका २६ वटै प्रतिनिधी सभा निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ ।
शुक्रबार दिउंसो २६ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको हो । २६ वटा क्षेत्र रहेको लुम्बिनी प्रदेशमा एमाले पहिलो दल बनेको छ । एमाले लुम्बिनी प्रदेशमा ११ वटा क्षेत्रमा निर्वाचित भएको छ ।
६ वटा क्षेत्रमा निर्वाचित भएर कांगे्रस लुम्बिनीको हकमा दोस्रो दलब बनेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र र राप्रपा समान ३ वटा क्षेत्रमा विजय भएको छ ।
नेकपा एकीकृत समाजबादी र लोकतान्त्रिक सामाजबादी पार्टीले १÷१ वटा क्षेत्रमा निर्वाचित भएका छन् ।
एउटा क्षेत्रमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
एमाले
एमालेबाट गुल्मी २ मा गोकर्ण विष्ट विजयी भएका छन् । उनले एकिकृत समाजबादीकी सचिव रामकुमारी झाक्रिलाई पराजित गरे । विष्टले २८ हजार ४७६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी झाक्रिले २६ हजार ४४१ मत प्राप्त गरिन् । त्यसैगरी अर्घाखांचीबाट टोपबहादुर रायमाझि विजयी भए । उनले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पराजित गरे । रायमाझिले ४२ हजार ६७५ मत प्राप्त गरी विजयी हुँदा भुसालले ४० हजार ९४५ मत प्राप्त गरिन ।
प्युठानबाट एमालेका सुर्य थापा विजयी भए् । उनले जनमोर्चाकी उम्मेदवार दुर्गा पौड्याललाई पराजित गरे । थापाले ४१ हजार ११८ मत प्राप्त गर्दा पौडेलले ३५ हजार ८१४ मत प्राप्त गरिन् ।
रुपन्देही क्षेत्र नं. ५ बाट बासुदेव घिमिरे विजयी भए । उनले नेपाली कांग्रेसका भरत कुमार शाहलाई पराजित गरे । घिमिरेले ३६ हजार ८२२ मत प्राप्त गरी विजयी हुँदा शाहले जम्मा २७ हजार १२० मत प्राप्त गरे ।
यसैगरी कपिलबस्तु क्षेत्र नं. १ बाट बलाराम अधिकारी विजयी भए । उनले माओवादीका चक्रपाणी खनाललाई पराजित गरे । अधिकारीले ३६ हजार ६७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादीका खनालले १८ हजार ९८३ मत प्राप्त गरे ।
बांके १ बाट सुर्य ढकाल विजयी भए । ढकालले २५ हजार २६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादीका महेश्वरजंग गहतराजले १९ हजार ६३२ मत प्राप्त गरे । यसैगरी पाल्पा क्षेत्र नं. १ बाट नारायण प्रसाद आचार्य विजयी भए । उनले कांग्रेसका ज्ञान बहादुर गाहालाई पराजित गरे । आचार्यले ३१ हजार १०३ मत प्राप्त गरी विजयी हुँदा गाहाले २० हजार २५६ मत प्राप्त गरे ।
पाल्पा क्षेत्र नं. २ बाट ठाकुर गैरे विजयी भए । उनले एकिकृत समाजबादी पार्टीका सोमप्रसाद पाण्डेलाई पराजित गरे । गैरेले २७ हजार ८१७ मत प्राप्त गर्दा पाण्डेले २३ हजार ८५१ मत प्राप्त गरे । यसैगरी रुपन्देही क्षेत्र नं. १ बाट छविलाल विश्वकर्मा विजयी भए । उनले गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई पराजित गरे । विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरी विजयी हुँदा भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । रुपन्देही २ मा विष्णु पौडेल निर्वाचित भए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई पराजित गरे । विष्णु पौडेलले २७ हजार १४८ मत प्राप्त गरी विजयी हुँदा स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत प्राप्त गरे ।
कांग्रेस
नेपाली कांग्रेसबाट विजयी हुनेहरुमा बांके क्षेत्र नं. ३ बाट किशोरसिंह राठौर रहेका छन् । उनले एमालेका किस्मत कुमार कक्षपतीलाई पराजित गरे । राठौरले २९ हजार ४० मत प्राप्त गर्दा कक्षपतीले २२ हजार २४७ मत प्राप्त गरे ।
बर्दिया क्षेत्र नं. १ बाट सञ्जय गौतम ३० हजार ६११ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरे । यसैगरी दाङ क्षेत्र नं. ३ बाट दिपक गिरी विजयी भए । गिरीले एमालेकी कोमल वलीलाई पराजित गरे । गिरीले ३६ हजार ८४२ मत प्राप्त गर्दा वलीले २९ हजार ३२ मत प्राप्त गरिन ।
नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट विनोद चौधरी विजयी भए । उनले जनता प्रगतिशिल पार्टीका उम्मेदवार हृदयेस त्रिपाठीलाई पराजित गरे । चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरे ।
यसैगरी गुल्मी क्षेत्र नं. १ मा चन्द्र भण्डारी विजयी भए । उनले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरे । भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गर्दा ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरे । त्यस्तै कपिलबस्तु २ मा सुरेन्द्रराज आचार्य विजयी भए । उनले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरे । आचार्यले ३९ हजार १४ मत प्राप्त गर्दा गुप्ताले ३८ हजार ६९७ मत प्राप्त गरे ।
माओवादी केन्द्र
माओवादी केन्द्रबाट रोल्पामा बर्षमान पुन विजयी भए । उनले ४१ हजार ७१४ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका पुर्ण बहादुर मगरले १६ हजार ४८५ मत प्राप्त गरे । यसैगरी रुकुम पुर्व क्षेत्र नं. १ बाट पुर्ण बहादुर घर्ती विजयी भएका छन् ।
घर्तीले १२ हजार २६२ मत प्राप्त गरि विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाश कुमार मल्लले ५ हजार २११ मत प्राप्त गरे । यसैगरी दाङ २ मा रेशा शर्मा विजयी भईन । उनले एमालेका शंकर पोखरेललाई पराजित गरिन । शर्माले २६ हजार ८८० मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरे ।
एकीकृत समाजबादीबाट
एकिकृत समाजबादीबाट दाङ १ मा मेटमणी चौधरी विजयी भए । उनले एमालेकी शान्ता चौधरीलाई पराजित गरे । मेटमणी चौधरीले २६ हजार ५६३ मत प्राप्त गर्दा एमालेकी शान्ता चौधरीले २१ हजार ४७९ मत प्राप्त गरिन ।
राप्रपाबाट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बांके २ मा धवलसमशेर जवरा विजयी भए । धवल समशेर जवाराले २९ हजार ५७७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी लोसपाका मोहम्मद ईश्चियाक राईले २३ हजार ५२० मत प्राप्त गरेका छन् । पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट धु्रववहादुर प्रधान विजयी भए । प्रधानले ३४ हजार ४५९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्रराज कंडेलले १९ हजार ५९४ मत प्राप्त गरे । यसैगरी रुपन्देही क्षेत्र नं. ३ मा दिपक बोहोरा विजयी भए । उनले बाहलवाला गृहमन्त्री नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांणलाई पराजित गरे । विजयी बोहराले खाँणलाई २ हजार ६८१ मतान्तरले पराजित गरे । बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरे ।
लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले रुपन्देही ४ मा विजयी हासिल गरेको छ । त्यहां सर्वेन्द्रनाथ शुक्ला विजयी भए । उनले २८ हजार मतले विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७०४ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र
बर्दिया २ बाट भने स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । उनले २६ हजार ५२० मत प्राप्त गर्दा माओवादीका सुरेश पन्थले २६ हजार ३८४ मत प्राप्त गरेका छन् ।
प्रदेशतर्फ एमाले र कांगे्रसले बराबर स्थानमा जीत हासिल गरेका छन् । समग्रमा लुम्बिनी प्रदेशमा एमाले बलियो देखिएको छ । अब बन्ने प्रदेश सरकार पनि एमालेको नेतृत्वमा बन्न सक्ने सम्भावना रहेको छ ।