लुम्बिनी प्रदेश मुकाम सार्ने प्रक्रिया तत्काल रोक्नुपर्छ – कांग्रेस रुपन्देही

बुटवल, मंसिर १८ गते । नेपाली कांग्रेस रुपन्देहीले लुुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम बुटवलबाट दाङसार्ने कामको बिरोध गरेको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले ध्यानाकर्षण भएको बताएको छ । कांग्रेसले राजधानी लैजाने जिम्मा संरचना निमार्ण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने कांग्रेसको माग छ ।
प्रदेशसभाबाट दाङको देउखुुरी उपत्यका र अर्घाखाँचीको शितगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णय अनुसार अहिले त्यहाँ संरचना नै निमार्ण नभएको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै कांग्रेस रुपन्देहीले हतार नगर्न आग्रह गरेको हो ।
कांग्रेस रुपन्देहीको विज्ञप्ती 
कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले विज्ञप्ती जारी गर्दै प्रदेशसभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन् ।

‘तत्काल सार्वभौम प्रदेशसभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद, विषयगत समितिलगायतका संरचनाको नियमित सञ्चालन र व्यवस्थान गर्न साथै प्रदेशसभा र सरकारसँगै जाने सभासद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजानु प्रदेशसभा तथा प्रदेश सरकारको सेवा प्रवाहमासमेत प्रतिकूल असर पर्ने देखिएकाले तत्काल मुकाम सार्ने प्रक्रिया रोकेर भौतिक संरचना निमार्णमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौँ,’ सभापति खाँणद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।