नेकपा मसाल प्यूठानका नेता थम्मन बुढामगरको निधन

बुटवल, मंसिर २० गते । नेकपा मसाल प्यूठानका नेता थम्मन बुढामगरको निधन भएको छ । प्युठान स्वर्गद्वारी नगरपालिका–४ निवासी थम्मन बुढामगर (झलनाथ) को ७८ वर्षको उमेरमा २०७९ मङ्सिर २० गते निधन भएको हो ।
उनी अहिले नेकपा मसाल प्यूठानको सल्लाहकार थिए । अनुशासित, प्रतिबद्ध, लगनशील र जुझारु पार्टीसदस्य थम्मन बुढामगरको निधनले कम्युनिष्ट आन्दोलनमा क्षती पुगेको छ ।
प्युठानको पम्प्लेट काण्डमा १३ महिना जेल बसेका थम्मन बुढामगरको निधनप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसका साथै पार्टीले शोकसन्तप्त प्युठानका सम्पूर्ण पार्टीसदस्य, समर्थक, शुभचिन्तक र परिवार जनप्रति समवेदना प्रकट गरेको छ ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले शोकवक्तव्य जारी गरी स्व. थम्मनप्रति श्रद्धाञ्जली र घरपरिवारप्रति समवेदना प्रकट गरेका छन् ।
बुढामगरको निधनले प्युठानको साथै समग्र कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको महामन्त्री सिंहले जारी विज्ञप्तीमा उल्ेख छ ।
शोक वक्तव्यको पूर्णपाठ 
उहाँको मृत्युप्रति गहिरो दुःखका साथ प्युठान जिल्लाका सबै पार्टीसदस्य, समर्थक, शुभचिन्तक र सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. थम्मन बुढामगरले २०२२ सालमा पार्टीमा प्रवेश गरी २०२५ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । उहाँ २०३४ सालको पम्प्लेट काण्डमा गिरफ्तार भई १३ महिनापछि सल्यान जेलबाट रिहा हुनुभएको थियो । उहाँले २०३५ सालदेखि लगातार प्युठान जिल्ला पार्टीको सदस्य भएर काम गर्नुभएको थियो । नेकपा (मसाल) का विभिन्न जनवर्गीय संगठनमा समेत रहेर उहाँले विभिन्न सांगठनिक जिम्मेवारी पूरा गर्नुभएको थियो ।
नयां दिशा परिवार नेकपा मसालका नेता थम्मन बुढामगरप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।