बुटवलमा सुविधा सम्पन्न २ वटा स्वास्थ्य केन्द्र बनाइने

बुटवल, मंसिर २१ । समयको माग अनुसार बुटवलमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बनाउनका लागि तयारी शुरु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो ।
एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।
स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताए ।
‘नगरप्रमुख खेलराज पाण्डेयको विशेष चासोका कारण यी स्वास्थ्य केन्द्र बुटवलमा आएका हुन्, उहाँले भने –यी स्वास्थ्य केन्द्रले बुटवलको स्वास्थ्य क्षेत्रमा थप इटा थप्नेछन् ।’
कोभिड १९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिण्डरसहितका बहुउदेश्यीय स्वास्थ्य केन्द्र भवनको छिटै नै शिलान्याश गरिने उनले बताए । स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।
३–३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम छिटै शुरु हुने गरी प्रक्रिया अघि बढेको मझौला तथा साना शहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरु मार्फत कोभिड १९ को रोकथाम र नियन्त्रण आयोजनाका कार्यक्रम संयोजक हरि प्रसाद शर्माले जानकारी गराए ।
बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि साना स्तरका देखि विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ्य केन्द्र निर्माणको काम अघि बढाएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।
उपचारका लागि बुटवलबासीले अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी भौतिक पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान दिएको नगर प्रमुख पाण्डेले बताए ।