एमाले प्रतिपक्षमा बस्छ – विष्णु पौडेल

बुटवल, मंसिर २३ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले प्रतिपक्षमा बस्ने बताएका छन् । एमाले प्रतिपक्षमा बसेर पनि जनताको काम गर्न सक्ने बताउंदै एमालेले प्रतिपक्षको भूमिका रहने विष्णु पौडेलको तर्क छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा गठबन्धनका कारण एमालेले बहुमत प्राप्त गनै नसकेको उल्लेख गर्दै अपेक्षा अनुसार अनुसार एमालेले परिणाम हासिल गर्न नसकेकाले जनादेशको सम्मान गर्दै प्रतिपक्षमा बस्ने बताए ।
शुक्रवार बुटवलको एक कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित नेता पौडेलले भने – निर्वाचनको जनादेश एमाले सरकारमा जान नभई प्रतिपक्षमा बस्ने छ, जनताको जनादेश एमालेले सम्मान गर्छ ।
उनले एमाले प्रतिपक्षमा रहेर आफ्नो नेतृत्वमा अगाडी बढाएका विकास निर्माण आयोजनाहरु पुरा गर्ने गरी भूमिका खेल्ने बताउंदै रुपन्देहीलाई पूर्वाधारको क्षेत्रमा विकास निर्माणका हिसाबले मुलुककै उत्कृष्ट जिल्ला बनाउने दावी गरे ।
पूर्व अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले एमालेका विरुद्ध सत्तामा रहेका दलहरुले गठबन्धन गरेर एमालेलाई कमजोर बनाउन खोजेपनि एमाले कमजोर नभएको र समानुपातिक मतको आधारमा एमाले ठूलो पार्टी बनेको बताए ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरु बुटवलबाट दाङमा लगेको विषयमा बोल्दै उनले भने – बुटवलमा रहेका मन्त्रालयहरु दाङमा पनि अस्थायी संरचनामै लैजानु गलत हो ।
प्रदेशसभाले राजधानीको गुरुयोजना तयार गरि स्थायी संरचना तयार भएपछि मात्र प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा लैजाने घोषणा गरेको भएपनि अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायतका संरचनाहरु रातारात अस्थायी संरचनामै लैजाने काम गलत भएको उनले बताए ।