चुनाव हारेका झलनाथले पुनः मतदानको मागसहित सर्वोच्चमा रिट

बुटवल, मंसिर २७ गते । इलाम क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेका नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पुनः निर्वाचनको माग गरेका छन् ।गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा हारेका नेता खनालले निर्वाचन बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।
निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने नेता खनालको माग छ ।

धाँधली गरी प्रतिस्पर्धीलाई जिताईएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी र संघीय संसद सचिवालयलाई विपक्षी बनाएका छन् ।
इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमाले उम्मेदवार महेश बस्नेतले २५ हजार ७ सय ५३ मतसहित निर्वाचित भएका थिए ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता खनालले २३ हजार ८९ मत प्राप्त गरी हारेका थिए ।
चुनावमा हारे लगत्तै नेता खनालले चुनावमा धाधली भएको दावी गर्दै पुनः मतदान तथा निर्वाचनको सार्वजनिक रुपमै माग गरेका थिए ।
एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका झलनाथ खनालले पांच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका थिए ।