लुम्बिनीमा दुई महिनामा ६१ लाख २० हजार ८ सय दाम संकलन

बुटवल, पुस १ गते ।गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दान वापत दुई महिनामा ६१ लाख २० हजार ८ सय रुपैयां संकलन भएको छ । लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रबार सकाएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको हो ।
आन्तरिक र वाह्य पर्यटकको संख्याबृद्धि भएसंगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । ।अघिल्लोपटक ३ महिनामा एक पटक गणना गरिएकोमा यस पटक दान पात्र छिटो भरिएकाले दुई महिना नपुग्दै गणना शुरु गरिएको हो ।
गत असोज ३० गते गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानवापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्याबृद्धि हुन थालेको छ ।
अहिले लुम्बिनी भ्रमणको सिजन समेत शुरु भएकाले छिमेकी देश भारत सहित थाईलेण्ड, म्यानमार, भियतनाम र यूरोपबाटसमेत दर्शनाथी आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए ।
लुम्बिनी विकास कोषको सुचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरीक अर्थात नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन् ।
यस्तै मंसिर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्यमुलुकबाट ७ हजार ४ सय ७३ जनाले लुम्बिनी आएका छन् ।म)सिर महिनासम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट १ लाख ८८ हजार पर्यटक भित्रिएको सुचना शाखाको तथ्यांकमा उल्लेख छ ।
भेयतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।