गुल्मीको मदानेमा छोरी,बुहारीलाई निःशुल्क उच्चशिक्षा

शंकरप्रसाद पोखरेल
गुल्मी, पुस ४ गते । गुल्मीको मदाने गाउंपालिकाले छोरी, बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने भएको छ । उक्त कार्यक्रम अन्तर्गत पुर्कोट दहमा रहेको जनज्योति क्याम्पसमा उच्चशिक्षा अध्ययन गर्ने छोरी र बुहारीहरुलाई निःशुल्क अध्ययनको सुविधा राखिएको छ ।
उच्चशिक्षाको पहुंच विस्तार गर्न छोरी, बुहारी शैक्षिक छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको गांउपालिकाले जनाएको छ । जसअनुसार स्थानीय जनज्योति क्याम्पसमा अध्ययनरत सबै तहका सम्पूर्ण छात्राहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिने छ ।

हाल क्याम्पसमा अध्यनरत १ सय दुई जना छात्राले यसको प्रत्यक्ष लाभ लिएका छन् ।
क्याम्पस प्रमुख देवीराम भुसालले कार्यक्रमले पछिल्लो समयमा छोरी र बुहारीहरुको हक स्थापित गराउने कार्यमा थप आकर्षण बढाएको बताए ।
चालु आर्थिक वर्षबाट पालिकाले छोरी, बुहारीलाई निःशुल्क उच्चशिक्षा दिने कार्यक्रम ल्याएको हो । गाउंपालिकामा सरकारी छात्रवृत्ति नपाएका एमबीबीएस अध्ययनरत विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति रकम पनि उपलब्ध गराउने व्यवस्था रहेको पालिका अध्यक्ष महेन्द्रबहादुर कुंवरले जानकारी दिएका छन् ।
त्यसैगरी सुरक्षित तवरले प्रसूती गराउन नसकेका गभर्वती महिलाहरुलाई तत्काल उचित गन्तव्यमा लैजान पालिकाले यातायात खर्चको समेत निःशुल्क व्यवस्था गरेको छ ।
चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाभित्रका सम्पूर्ण विद्युत लाभग्राहीहरुको २० युनिटसम्मको न्यूनतम विद्युत महशुल भुक्तानी गर्ने कार्यक्रम पनि लागु मदाने गाउंपालिकामा भैसकेको छ ।

२०७९ श्रावणदेखि पुस महिनासम्म ४ हजार ५८३ घरधुरीको नाममा पहिलो किस्ता अन्तर्गत ८ लाख २४ हजार ९४० रुपैयां नेपाल विद्युत प्राधिकरण तम्घासको नाममा जम्मा गरिएको गाउंपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुंवरले जानकारी गराएका छन् ।