बुटवलमा जारी औधोगिक प्रदर्शनीमा दर्शकको भिडभाड

बुटवल, पुस १० गते । बुटवलमा जारी भएको १५ औं राष्ट्रिय औधोगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा दर्शकहरुको भिड लाग्न थालेको छ ।
रुपन्देही उद्योग संघको आयोजनामा संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार भन्ने नाराका साथ महोत्सव शुरु भएको हो । प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम सुरु भएसंगै दर्शकको भीड लाग्न थालेको हो ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत आइतबार लोकदोहोरी गायक राजु परियार, विष्णु श्रीपाली उज्वल गिरी, हास्य कलाकार, आधुनिक गायक हेमन्त शर्मा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यसैगरि प्रदर्शनी आइडल अन्तर्गतका प्रस्तुति पनि भएका छन् ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरुको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताको सुझावहरु संकलन गरिने जनाईएको छ ।
बुटवल मण्डपमा निर्माणाधिन प्रदर्शनी स्थलमा पहिलो पटक आयोजना गरिएको यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकलन गर्ने र २५ करोडको आर्थिक कारोवार गर्ने आयोजक संस्थाको लक्ष्य छ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, अटो, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटी लगायतका गरी साढे चार सय स्टल सहभागि रहेका छन् ।
प्रदर्शनीमा गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा उत्पादन भएको अर्गानिक कफीप्रति उपभोक्ता आर्कषित भएका छन् । त्यस्तै अन्य गाउंघरका तथा स्थानीय उत्पादनप्रति उपभोक्ताले चासो देखाएर किनमेल गर्ने गरेका छन् ।