बुटवलमा सडक खाना महोत्सव शुरु

बुटवल, पुस १५ गते । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा सडक खाना महोत्सव शुरु भएको छ ।
लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलन चल्तीका विभिन्न परिकारलाई एकै थलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले बुटवलमा चौथो सडक खाना महोत्सव आयोजना गरिएको हो ।
बुटवल वडा नं. ९ तिनकुने चोकदेखि माथी नयां बसपार्कसम्म निर्माणाधिन कालिकापथ सडकको दायांवायां क्षेत्रमा सडक खाना महोत्सव सञ्चालन गरिएको हो ।विभिन्न खानाका परिकार सहितका १ सय बढी स्टल राखिएको छ ।
तीन दिनसम्म चल्ने सडक खाना महोत्सवको शुक्रबार एक कार्यक्रमबीच संघीय सांसद तथा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले शुभारम्भ गरे ।
त्यस अवसरमा बोल्दै सांसद विश्वकर्माले बुटवललाई पर्यटकीय हवको रुपमका विकास गर्न सकिने बताए ।
आर्थिक केन्द्रसंगै बुटवल होटल तथा पर्यटन क्षेत्रमा अब्बल शहरको रुपमा विकास भएको बताउंदै बुटवलको विकासले समग्र देको विकासमा सकरात्मक प्रभाव पर्ने बताए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पठाउनुभएको शुभकामना सन्देश संघका महासचिव माधव कुमार खनालले वाचन गरेर सुनाएका थिए ।
संघका अध्यक्ष रामप्रसाद गौतमले सांझ ६ बजेदेखि राती १२ बजेसम्म सडक खाना महोत्सव सञ्चालन गरिने बताए ।
नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्वन र रोजगारी सृजना हाम्रो अभियान भन्ने मुल नाराका साथ सडक खाना महोत्सव आयोजना गरिएको हो ।
तीन दिनसम्म चल्ने उक्त सडक खाना महोत्सवमा करिव १ करोडको आर्थिक कारोबार हुने र १ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकहरुको अपेक्षा छ ।