बुटवलमा रात्रीकालिन बजार सञ्चालन

बुटवल, पुस १८ गते । बुटवलमा रात्रीकालिन बजार सञ्चालन हुने भएको छ । बुटवलको कालिकापथदेखि होराइजन चोकसम्म रात्रीकालिन बजार सञ्चालनका लागि बुटवल क्षेत्रका व्यवसायिक संघसस्था तथा सरोकारवाला निकायहरु सहमत भएका छन् । बुटवलको कालिका पथमा आज पुस १८ गतेदेखि राती ११ बजेसम्म रात्रीकालिन बजार सञ्चालन हुने छ ।
बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देही उद्योग संघ, जनप्रतिनिधि र उद्योगी व्यवसायीले बुटवलको कालिका पथमा रात्रीकालिन बजार सञ्चालनका लागि सहमत भएका हुन् ।


बुटवलमा चलिरहेको सडक खाना महोत्सवको अवसरमा बुटवल उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको रात्रीकालिन बजार सञ्चालन विषयक अन्तरक्रियामा बोल्ने सहभागिले रात्रीकालिन बजार सञ्चालन गर्नु अघि आवश्यक पूर्वाधार तयार गर्न माग गरे ।
रात्रीकालिन बजार सञ्चालनका लागि सार्वजनिक शौचालय, खानेपानी, पार्किङ, लाइट, सिसिटिभी क्यामरा, प्रतिक्षालय तथा विश्रामस्थलको व्यबस्था हुनुपर्ने उनीहरुले बताए ।
रात्रीकालिन बजारका लागि सुरक्षा निकायले नागरिकलाई सुरक्षाको ज्ञारण्टी गर्नुपर्ने र आवश्यक पूर्वाधार तयारका लागि बजेटको व्यवस्था बुटवल उपमहानगरपालिकाले गर्नुपर्ने सरोकारवालाको माग छ ।
सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रात्रीकालिन बजार सञ्चालनका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।
पुस १८ गतेदेखि बुटवलको कालिका मन्दिरदेखि होराईजन चोकसम्म राती ११ बजेसम्म रात्रीकालिन बजार सञ्चालन गर्न व्यवसायीलाई नगर प्रमुख पाण्डेयले आग्रह गरे ।
उनले कालिकापथमा सञ्चालन हुने रात्रीकालिन बजारका लागि एक हप्ता भित्र सबै पोलहरुमा लाइटको व्यवस्था बुटवल उपमहानगरपालिकाले गर्ने आश्वासन दिए ।
सार्वजनिक शौचालय, खानेपानी र पार्किङको व्यवस्था मिलाउनेसमेत प्रतिबद्वता जनाउंदै नगरप्रमुख पाण्डेयले भने – रात्रीकालिन व्यवसाय चलाउने व्यवसायीले शौचालयको अनिवार्य व्यवस्था गरी बुटवल उपमहानगरपालिकासंग समझौता गर्नुपर्छ ।
उपप्रमुख सावीत्रादेवी अर्यालले बुटवलमा रात्रीकालिन बजार सम्भव भएको बताउंदै काम सुरु गरेपछि असम्भव भन्ने केही नहुने बताइन ।
बुटवलको कालिकापथलाई काठमाण्डौको ठमेल र पोखराको लेकसाईड जस्तै बनाउन सकिने भएकाले बुटवलको विकासमा सबैको साथ सहयोग आवश्यक पर्ने बताइन ।
पर्यटन बोर्डका रामु जोशीले रात्रीकालिन बजार सञ्चालन गर्दा पर्यटकीय क्षेत्रको रुपमा पनि बुटवलको विकास हुने बताए ।
रात्रीकालिन बजार सञ्चालनका लागि कार्यदल गठन गरी कार्यविधि बनाउनुपर्ने बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराधको अनुसन्धान गरी पींडितलाई न्याय दिन प्रहरीले आफ्नो कर्तव्य पुरा गर्ने बताए ।
उनले रात्रीकालिन बजार सञ्चालन भए सुरक्षाको व्यवस्था मिलाउने प्रतिवद्वता जनाए ।
कार्यक्रममा बुटवल वडा नम्बर ११ का वडा ध्यक्ष रामचन्द्र क्षेत्री, वडा नम्बर ९ का वडाध्यक्ष प्रदीप श्रेष्ठ, नेकपा एमालेका भोजबहादुर बुढाथोकी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, पत्रकार श्यामलाल पोखरेल, पर्यटन व्यवसायी समुन्द्र जीसी, उद्योगी व्यवसायी नवराज श्रेष्ठ, बाबुराम बोहोरा लगायतले बोल्दै बुवलमा रात्रीकालिन बजार सञ्चालनका लागि पूर्वाधार विकासलाइृ पूर्णता दिन सुझाव दिए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षता र महासचिव माधवकुमार खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।