लुम्बिनी प्रदेशसभा पहिलो बैठक देउखुरीमा

बुटवल, पुस १७ गते । लुम्बिनी प्रदेश सभाको पहिलो र दोस्रो बैठक सोमबार बसेको छ । प्रदेशसभाका जेष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा अधिवेशनको पहिलो र दोस्रो बैठक बसेको हो ।लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख चयन गर्ने प्रकृया आगामी माघ ३ गते गरिने भएको छ ।
प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
जेष्ठ सदस्य भुसालले प्रदेशसभाको अबको बैठक माघ ३ गते बस्ने बताउनुभयो ।त्यही दिन नै सभामुख र उपसभामुखको निर्वाचन प्रकृया सुरु हुनेछ,त्यसपछि प्रदेशसभाले आफ्नो नियमित कार्यसम्पादन र जिम्मेवारीमा अघि बढ्ने छ ।
सोमबार प्रदेशसभामा दोस्रो कार्यकालको पहिलो अधिवेशनको दुई बैठक भएका हुन् ।पहिलो बैठकमा प्रदेशसभाको बैठक आह्वान सम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको थियो । सो बैठकमा बोल्दै प्रदेश प्रमुख शेचरनले पहिलो कार्यकालमा लुम्बिनी प्रदेशले गरेका उपलब्धीका बारेमा चर्चा गरेका थिए ।
प्रदेशको नामाकरण, स्थायी राजधानी तोकेर व्यवस्थापन गर्नेदेखि हालसम्म बनाएका ७२ कानु मुख्य उपलब्धी रहेको शेरचनले बताए ।
उनले विपन्न र असहाय जनताका लागि सरकारले दिने उपचार खर्च र राहतका विषय उल्लेख गर्दै सरकारका कामको प्रशंसा गर्दै अबको अधिवेशन पनि त्यही गतिमा अघि बढ्नेुपर्ने बताउनुभयो ।प्रदेश प्रमुखको धारणासहित पहिलो बैठक सकिएको थियो । सोमबार नै बसेको प्रदेशसभाको दोस्रो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ पारित गरेको छ ।
बैठकमा एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेशसभाको पहिलो कार्यकालका उपलब्धीलाई संस्थागत गर्दै थप योजनाका साथ काम गर्ने बताए ।
प्रारम्भमा पहिलो कार्यकाल बुटवलमा संरचनाविहीन अवस्थामा प्रदेशलाई स्थापित गर्न स्थानीय संघसंस्थाले गरेको सहयोग, बुटवलका संघसंस्थाले आफ्नो कार्यालय र भवन सरकारलाई उपलब्ध गराएर संघीयता कार्यान्वयनका लागि गरेको सहयोग प्रदेशसभाले कहिल्यै भुल्न नहुने बताए ।
कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो कार्यकाल व्यवस्थापन र कानुन निर्माणमै सकिएको भन्दै दोस्रो कार्यकाल चुनौतीपूर्ण रहेको बताए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दोस्रो कार्यकालको प्रदेशसभा उच्च राजनीतिक संस्कारका साथ जनताका आशा, अपेक्षा पुरा गर्न सफल हुने विश्वास व्यक्त गरे ।
प्रदेशसभामा राप्रपाका आशिषकुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, नेकपा एकीकृतकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाकी तारा थापाले बोलेका थिए ।