राष्ट्रिय जनमोर्चा प्रतिपक्षमा बस्छ – चित्रबहादुर

  बुटवल, पुस २६ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा पर्न सक्ने बताएका छन् ।
सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै नेता केसीले भने – देश झनै संकटमा जानसक्छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने – राष्ट्रिय जनमोर्चा एक्लै भएपनि प्रतिपक्षमा बस्छ र प्रतिपक्षको भूमिका खेल्छ ।
आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने अध्यक्ष केसीको तर्क छ ।
उले भने– ‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने भनेर लागेका छन्, यहाँभन्दा हाइसन्चो अरु के हुन्छ । सत्ता पक्षमा बस्नेलाई यहाँ भन्दा आनन्द के हुन्छ ? यो कुन किसिमको समर्थन हो । मैले बुझ्न सकिन । आफ्ना गल्ती पन्छाउन र एउटालाई सरकारबाट पन्छाएर आफू आउने खेल त होइन यो । यसो गरेर देश बन्छ ? सरकार चल्छ ? यस खालको दृश्य डरलाग्दो छ ।’
अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाहरुबाट सरकारमा नगइ, देशको प्राकृतिक श्रोत,साधनको दोहन नगरी चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको हुनसक्ने बताए ।