एमाले छाडेका घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

बुटवल, पुस २९ गते । नेकपा एमाले छाडेका नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी घनश्याम भुसाल समाजवादीमा प्रवेश गरेका हुन् ।
माधवकुमार नेपालले एमाले विभाजन गरेको डेढ वर्षपछि भुसाल समाजवादीमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेमा रहँदा भुसाल माधव नेपाल समूहमा थिए ।
२०७८ असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाललाई मिलाउन बनाइएको १० बुँदे सहमतिपत्रका एकजना मस्यौदाकार थिए नेता घनश्याम भुसाल ।
तर नेपालले २०७८ साउनमा एमाले विभाजन गर्दा भुसालले माधव नेपाललाई साथ दिएका थिएनन् ।
गत मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसाल पार्टी छाडेर स्वतन्त्र रुपमा रुपन्देही १ बाट उठेर पराजीत भएका थिए ।