लक्ष्य अनुसार भैरहवा भन्सार कार्यालयमा राजश्व संकलन भएन

बुटवल, पुस ३० गते । रुपन्देहीको सीमानामा रहेको भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।
राजश्व संकलन घटेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो १२ महिनादेखि देशको एक ठूलो भन्सार नाकाका रूपमा रहेको भैरहवा भन्सार कार्यालयले निरन्तर राजस्व संकलन लक्ष्य अनुसार संकलन सकेको छैन ।
सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वार्टरको नेतृत्वमा समग्र रुपन्देहीको सीमा सुरक्षा व्यवस्था भइरहेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप जनशक्ति परिचालन गरी आकस्मिक र आवश्यकता अनुसार ठाउंठाउंमा चेक बढाइएको छ । सरकारलाई राजस्वको दबाब पनि परेको भन्दै शशस्त्र प्रहरीले पनि केही योगदान गर्न सक्छ कि भनेर जनशक्तिको अधिकतम प्रयोग गरी राजस्व वृद्धिका लागि दुई सातादेखि लागेको श्रेष्ठले बताए ।
एक वर्षदेखि भैरहवा भन्सार कार्यालयले पाएको लक्ष्य भेटाउन सकेको छैन । कार्यालयको तथ्यांक अनुसार मंसिर ०७८ सम्म लक्ष्यअनुरुप सफलता हासिल भएपनि पुसपछि लक्ष्य प्राप्त नहुंदा आयात घटदै गएको छ ।
आर्थिक वर्ष २०७९र८०को पहिलो महिना लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भए पनि भदौमा ६७, असोजमा ४१, कार्तिकमा ४० र मंसिरमा ३९ प्रतिशतमा सिमित रहेको छ । चालु आर्थिक वर्षमा मात्रै २ करोड बढीको किराना, विद्युतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपाया लगायत चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाइएको छ । सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वार्टरले चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढीको चिनी, कपडा, कुखुरा, माछा, मोटरपाट्र्स तथा हार्डवेयर, किरानालगायतका चोरी तस्करीका सामान नियन्त्रणमा लिएको बताएको छ ।