लुम्बिनीमा सभामुख र उपसभामुखका लागि ४ जनाको मनोनयन दर्ता

बुटवल, माघ २ गते । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि ४ जनाको मनोनयन दर्ता भएको छ ।
संसद सचिबालयले जारी गरेको सूचना अनुसार सोमबार सांझ ५ बजे सम्मका लागि मनोनय दर्ताका लागि समय तोकिएको थियो ।
सांझ ५ बजेसम्म सभामुखमा १ र उपसभामुखमा ३ गरी ४ जनाको मनोनयन दर्ता भएको हो ।

सभामुखमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र मनोनयन दर्ता भएको छ । उपसभामुखमा भने राप्रापकी मेनुका खांण, नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले मनोनयन दर्ता गरेका छन् ।
सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी रहेका छन् । उप–सभामुखमा खांणको प्रस्तावकमा माओवादीका ईन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन् ।
यस्तै नेपाली कांग्रेसबाट उपसभामुख पदमा मनोनयन दर्ता गरेका पाठकको प्रस्तावकमा वसिरुद्दिन खां रहेका छन्, भने समर्थकमा राजु खनाल छन् ।
उन्मुक्ति पार्टीबाट उपसभामुख पदमा मनोनयन दर्ता गरेकी निर्मलादेवी थारुको प्रस्तावकमा नरमाया ढकाल छन्, भने समर्थकमा धर्म बहादुर चौधरी रहेको प्रदेशसभा सचिबालयका सचिव दुर्लभकुमार पुनले जानाकारी गराएका छन् ।
लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् । प्रदेशसभामा सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन । कांग्रेसका २७ सदस्य छन । कांग्रेसले सरकारलाई समर्थन गरेको छैन् । १–१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले भने सरकारलाई समर्थन गरेका छैनन् ।
प्रदेशसभा सचिबालयका सचिव दुर्लभकुमार पुनका अनुसार सोमबार मनोनय दर्ता भएसंगै मंगलबार बस्ने बैठकले लुम्बिनी प्रदेश सभामा सभामुख र उपसभामुख चयन हुने छ ।
भोलीको बैठक पनि जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने छन् ।