पर्यटन व्यवसायीका समस्याप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह

बुटवल, माघ ४ गते । पर्यटन व्यवसायीका समस्याप्रति सरकारलाई जिम्मेवार बन्न होटल व्यवसायी महासंघका पदाधिकारीहरुले आग्रह गरेका छन् ।
कोभिडका कारण समस्यामा परेका पर्यटन व्यवसायीले घरभाडा र बैंकको किस्तासमेत तिर्न नसक्दा पेशाबाट विस्थापित हुने अवस्था आएको उनीहरुको गुनासो छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीका मागप्रति राज्यले ध्यान नदिएको बताए ।
पेशगात सुरक्षा र पर्यटन प्रवद्र्वनका लागि पर्यटन व्यवसायी एकीकृत हुनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष मोदनाथ बेलवासेले पेशागत सुरक्षाका लागि व्यवसायी एकता आवश्यक रहेको बताए।
पर्यटन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन राजनीतिक बिचार भन्दा माथि उठ्नुपर्ने बताए ।
होटल व्यवसायी महासंघका केन्द्रिय उपमहासचिव राजेश महोत्राले कोभिडले थला परेको पर्यटन व्यवसाय फस्टाउन नसके देशको आर्थिक अवस्थामा परिवर्तन आउन नसक्ने बताए ।
कार्यक्रममा महासंघका केन्द्रिय सचिव नारायण सेन, सदस्य महेन्द्र श्रेष्ठ, खेमराज पौडेल, रामप्रसाद पोखरेल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष समुन्द्र जीसी, संघक वरिष्ठ उपाध्यक्ष बाबुराम गौतमल लगायतले बोल्दै व्यवसायीक हकहित र अधिकारका लागि देशभरका पर्यटन व्यवसायीबीच एकता आवश्यक बताए ।

गत पुस १९ २० गते चितवनमा सम्पन्न होटल व्यवसायी महासंघको चौथौ महाधिवेशनबाट महासंघको उपाध्यक्षमा रुपन्देहीका पर्यटन व्यवसायी मोदनाथ बेलवासे उपाध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै महासंघको उपमहासचिवमा राजेश महोत्रा, सचिवमा नारायण सेन, सदस्यमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, लालबहादुर केसी, रामप्रसाद पोखरेल र खेमराज पौडेल निर्वाचित भएका थिए ।
महासंघमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधबार संघको कार्यकक्षमा स्वागत तथा सम्मान गरेको हो ।
महासंघको चौथो महाधिवेशनबाट रुपन्देहीका सात जना पर्यटन व्यवसायी निर्वाचित भएका थिए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षता र महासचिव माधवकुमार खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।