नेपालको हकमा संघीयता घातक – रश्मीराज

बुटवल, माघ २४ गते । नेपालमा संघीयता आर्थिक रुपले बढी खर्चीलो भएको राजनीतिक दलका नेताहरुले बताएका छन् । सैद्वान्तिक रुपले संघीयता ठिकै भएपनि आर्थिक र भौगोलिक हिसावले नेपालको हकमा संघीयता ठिक नभएको बताए । उत्पीडित वर्ग, समूदाय र क्षेत्रको अधिकारसंग संघीयता जोडिएपनि संघीयताले अधिकार दिनुको सट्टा देशलाई कमजोर बनाएको बताए ।
राष्ट्रिय जनमोर्चा लुम्बिनीले मंगलबार बुटवलमा आयोजना गरेको गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयताविरुद्व संघर्षको प्रशन विषयक अन्तरक्रियामा बोल्ने दलका नेताहरुले राष्ट्रियताको विषय गम्भीर बन्दै गएको बताए ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सबालमा वामपन्थीबीच सहकार्य र एकता आवश्यक रहेको उनीहरुको साझा धारणा छ ।
उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले संसदबाट एमसीसी सम्झौता पारित भएपछि नेपाल, चीन विरुद्वको अमेरिकी शैन्य गठबनधनमा सामेल भएको दावी गरेका छन् ।
अहिलेको व्यवस्थालाई पूंजीवादी वयवस्था भएको उल्लेख गर्दै यो गणतान्त्रिक व्यवस्था समाप्त पार्ने खेल भैरहेको दावी गरे ।
देशमा प्रतिगमनको खतरा अहिलेपनि कायमै रहेको बताउंदै उनले भने– आफुलाई गणतन्त्रबादी बन्नेहरु अहिले राजावादीहरुसंग मिलेका छन् । जसले प्रतिगमनलाई मलजल गरेको छ र प्रतिगमनको खतरा अझै छ ।

उनले संघीयताले देश संकटमा परेको बताउंदै रवी लामिछाने नेपालीको छोरा भएपनि अमेरिकाको नागरिक भएकाले मन्त्री र सांसद बनाउन नहुने बताए ।
आर्थिक, भौगोलीक, सामाजिक, सांस्कृतिक, भाषिक, जातीय हिसावले नेपालको हकमा संघीयता घातक रहेको नेता नेपालीको तर्क छ ।
राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य तथा प्रदेश सांसद तारा थापाले संघीयता, नागरिकता विद्येयक, एमसीसी र एसपीपीले राष्ट्रियता कमजोर भएको बताए । नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले राष्ट्रियतामाथि बैदेशीक हस्तक्षेप बढेकाले राष्ट्रियताको आन्दोलनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
नेकपाका व्यूरो इन्चार्ज बसन्त श्रेष्ठले नेपालमा अहिलेको जस्तो संघीयता ठिक नभएको बताउंदै समाजवादी संघीयता ठिक हुने दावी गरे ।
नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य विश्वराज बरालले राष्ट्रियताको विषय गम्भीर भएर आएकाले एकले अर्काको बिरोध गर्नुभन्दा राष्ट्रियताको विषयमा एक ठाउं हुनुपर्ने बताए ।
नेपाली कांगे्रसका रामबहादुर कार्कीले संविधान कार्यान्वयन नहुंदा प्रतिगमनको खतारा रहेको र राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा भएको बताए ।
राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले राजावादी, एमाले, भारतीय साम्राज्यवादको धर्म निरपेक्षतालाई समाप्त गर्ने उद्वेश्यका पछाडी हिन्दु धर्मको नाममा राजतन्त्र पुनस्र्थापना गर्ने खेल रहेको दावी गरे ।

वामपन्थी बुद्विजीवी लिलाबहादुर केसीले संघीयताका कारण नेपालको गणतन्त्र र राष्ट्रियता दुवैलाई खतरा भएकाले संघीयताको शासकीय स्वरुप प्रदेश खारेज गर्नुको नेपालमा अर्को कुनै विकल्प नभएको दावी गरे ।
राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्रीको अध्यक्षता, सोमकुमार कार्कीको सञ्चालन र शेरबहादुर विसीको स्वागतमा कार्यक्रम भएको हो ।