अमेरिका र भारतको चासो

काठमाडौं, माघ २७ गते । नेपालमा अमेरिका र भारतको चासो बढेको छ । अमेरिकी उच्च अधिकारीहरु नेपाल आइरहंदा भारतले पनि नेपालमाथि थप चासो बढाएको हो ।
आगामी साता दुवै देशका उच्च अधिकारीहरु नेपाल आउन लागेका छन् । नेपालमा बढ्दो अमेरिकी भ्रमणकाबीच भारतले पनि उच्च अधिकारीलाई नेपाल पठाउन लागेको परराष्ट्र स्रोतले बताएको छ ।
अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टमा दक्षिण तथा मध्य एसिया ब्युरो हेर्ने उप–सहायकमन्त्री अफ्रिन अख्तर सोमबार काठमाडौं आउने भएकी छन् ।

नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत उच्च सरकारी अधिकारीसंग भेट्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले बताएको छ ।
हालै अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमण सकेर बुधबार मात्र फर्केकी थिइन्।

भारतीय विदेश सचिव क्वात्रा सोमबार आउंदै
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आगामी सोमबार नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। क्वात्रा दुईदिने भ्रमणमा काठमाडौँ आउन लागेका हुन्।
परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेको बताईएको छ ।
गत पुसमा प्रचण्ड नेतृत्वमा नयंँ सरकार गठन भएयता नेपाल आउन लागेका क्वात्रा उच्च भारतीय अधिकारी हुन्।

पौड्याल क्वात्राको निमन्त्रणामा गत सेप्टेम्बर १३ र १४ मा भारत यात्रामा गएका थिए। नेपालमा रहंदा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसंग भेट्ने कार्यक्रम रहेको बताईएको छ ।
क्वात्राको भ्रमणमा प्रधानमन्त्री प्रचण्डको सम्भावित भारत भ्रमणबारे पनि कुरा हुने स्रोतले बताएको छ ।
अमेरिका र युरोपबाट तारन्तार भ्रमण भएपछि नयां दिल्ली सशंकित बनेको बताइन्छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की एक सदस्यसमेत रहेकी पावरले दुई दिने नेपाल बसाइमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्रीसंग भेटवार्ता गरेकी थिइन् ।
पावरको भ्रमणअघि अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन्। उनले पनि प्रधानमन्त्रीलगायत उच्च अधिकारीसँग भेटेकी थिइन्।
गत पुस दोस्रो साता नयां सरकार बनेपछि अमेरिकाबाट नेपाल भ्रमण बाक्लिएको छ। विश्वमा अमेरिकाकै रणनीतिक सारथी मानिने युरोपबाट समेत राजनीतिक भ्रमण भइरहेका छन्।
क्षेत्रीय संगठन युरोपेली संघ (ईयू) की अन्तर्राष्ट्रिय सहकार्य हेर्ने आयुक्त जुटा उर्पिलाइनेन बुधबार एकदिने भ्रमण सकेर फर्किइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री राईसँग भेटेकी थिइन्। उनी ईयूमा मन्त्री दर्जाकी उच्च अधिकारी हुन्।
यस्तै, मंगलबार नेपाल आएका बेलायतका रक्षा अधिकारीको भ्रमण जारी छ। डिफेन्स पिुपुल, भेटेरान्स र सर्भिस फ्यामिलिज हेर्ने बेलायतका मन्त्री एन्ड्रयू मोरिसनको भ्रमण गोर्खा सैनिकको मुद्दामा केन्द्रित छ।

सोमबार अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर नेपाल आएकै दिन क्वात्रा पनि काठमाडौ आउने छन् ।
जसले गर्दा नेपालमाथि अमेरिका र भारतको चासो बढेको बुझ्न सकिन्छ ।