बुटवल उपमहानगरको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

बुटवल, माघ २७ गते । बुटवल उपमहानगरपालिकाको ६४औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु गरिएको छ । शुुक्रारदेखि साताव्यापी कार्यक्रमहरु शुरु गरिएको हो ।
स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि एक सातासम्म रक्तदान, मैत्रीपूर्ण फुटबल, भलिबल, टेबलटेनिस, घैटोफोर, कुर्ची दौड प्रतियोगिता शुरु भएका हुन् ।
शुक्रबार बिहान नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले स्थापना दिवसको अवसरमा कर्मचारी एशोसिएशनको आयोजनामा खेलकुद कार्यक्रमहरु हुने र फागुन ३ गते मूल कार्यक्रम आयोजना हुने बताए ।


मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरुले मैत्रीपूर्णभाव सिर्जना गर्ने र सम्बन्ध बलियो बनाउने नगर प्रमुख पाण्डेयले बताए । उपप्रमुख सावित्रादेवी अर्यालले सिर्जनात्मक कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउन मदत पु¥याउने बताइन । रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको कर्मचारी एशोसिएशनका अध्यक्ष अनिल कुमार माण्डब्यले जानकारी गराएका छन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार अन्तरपालिका महिला भलिवल प्रतियोगिता शुरु भएका छन् । शनिबार रुपन्देही जिल्लाका १५ पालिका तथा पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख, उपप्रमुखसहितको टीमसँग बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसहितको टीमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको माण्डव्यले बताए ।
यस्तै आइतबार बिहान नेपाल पत्रकार महासंघ रुपन्देही र राजनैतिक दलहरुका बीचमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, महिला र पुरुष कर्मचारीबीच खुला टेबलटेनिस प्रतियोगिता, फागुन १ गते महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, अन्तर महाशाखा पुरुष भलिबल प्रतियोगिता कार्यक्रम रहेको ठगिश्वर पोखरेलले बताए ।
यस्तै फागुन २ गते महिला, पुरुष जनप्रतिनिधि र कर्मचारीबीच घैटोफोर, कुर्सी दौडलगायतका कार्यक्रम आयोजना हुने छ ।

फागुन ३ गते उपमहानगरपालिकाले स्थापना दिवसको मूल समारोह कार्यक्रम आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
मुल समारोहमा उत्कृष्ट कर्मचारी, करदाता, विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गरिनुका साथैसम्मान गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरपालिकाका पे्रस सल्लाहाकार सीपी खनालले जानकारी गराएका छन् ।