लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता

बुटवल, माघ २९ गते । लुम्बिनी प्रदेश सरकारले आज पूर्णता पाएको छ । मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषदलाई पूर्णता दिंदै मन्त्रीहरुको कार्यविभाजन समेत गरेका छन् ।
मुख्यमन्त्री गिरीले यस अघि विना विभागिय मन्त्रीका रुपमा रहेका २ जनासहित सत्ता साझेदार ४ दलका ७ जना मन्त्रीलाई नियुक्त गर्दै मन्त्रीहरुको कार्य विभाजन गरेका हुन् ।
मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (९) अनुसार मन्त्रीहरुको नियुक्ति र कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत जानकारी गाइएको छ ।

विस्तारित मन्त्रिपरिषद्मा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना, राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।
कार्यविभाजन अनुसार माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक मामिला मन्त्रालय, नेकपा एमालेका चेतनारायण आचार्य खानेपानी,ग्रामीण तथा शहरी विकास मन्त्रालय, माओवादी केन्द्रका इन्द्रिजीत थारु भैतिक पूर्वाधार विकास मन्त्रालय, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालय,एमालेका दुर्गाप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय,राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकी प्रसाद यादवलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, एमालेका तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रीहरुको आज दिउंसो १ बजे दाङमा सपथ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।