दुर्गा शैक्षिक गृहले मनायो २० औ वार्षिक उत्सव

शिक्षालाई प्रविधिसंग जोड्नुपर्छ – सांसद धौधरी

बुटवल, फागुन ५ गते । रुपन्देहीको सियारी गाउंपालिका वडा नम्बर ६ मा सञ्चालित दुर्गा शैक्षिक गृह स्कुलले आफ्नो २० औं वार्षिक उत्सव मनाएको छ ।
विद्यालय स्थापना भएको २० औं वर्ष प्रवेश गरेको अवसरमा स्कुलले विशेष कार्यक्रमको आयोजना गरी यही फागुन ५ गते वार्षिक उत्सव मनाएको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीको प्रमुख आतिथ्या र दुर्गा शैक्षिक गृहकी अध्यक्ष सुजाता ज्ञवालीको अध्यक्षतामा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
सोही कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका प्रमुख अतिथि सांसद तुलसीप्रसाद चौधरीले शिक्षालाई प्रविधिसंग जोड्नुपर्ने बताए ।
रोजगारमूलक शिक्षाका लागि शिक्षालाई प्रविधिसंग जोड्नु पर्नेमा जोड दिए ।उनले शिक्षालाई प्रविधिसंग नजोड्दासम्म शैक्षिक बेरोजगारको अन्त्य नहुने बताउंदै शिक्षालाई प्रविधिसंग जोड्न र स्कुलमा प्राविधिक शिक्षा सञ्चालन गर्न दुर्गा शैक्षिक गृहलाई आग्रह गरे ।

 


कोरा प्रमाण पत्रले मात्र अब देश नबन्ने बताउंदै उनले भने – देशमा विक्ने नागरिक उत्पादन गर्न सबै स्कुलहरुले प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्छ ।
शैक्षिक बेरोजगारको अन्त्यका लागि राज्य र नीजि क्षेत्र दुबैले प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
मुलुकको सम्वृद्विका लागि कृषि, पर्यटन र वनलाई औधद्यौगिक करण गर्नुपर्नेमा जोड दिए ।

जिल्ला शिक्षा समन्वय इकाई रुपन्देही प्रमुख दिपेन्द्र ढकालले शिक्षामा सूचना प्रविधिको उच्चतम् उपयोग गर्नुपर्ने बताए ।
विद्यार्थीको पहिलो पाठशाला आफ्नै घर भएकाले आफ्ना छोराछोरीलाई अनुशासित बनाउन घरमा बाउआमालाई राम्रो संस्कार दिन आग्रह गरे ।
दुर्गा शैक्षिक गृह स्कुलका प्रवन्धक निर्देशक राजन ज्ञवालीले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पूर्णरुपमा शैक्षिक वातावरण रहेको बताए ।
विद्यालयका भवन, कक्षा कोठा, खेल मैदान, पार्क विद्यार्थीमैत्री भएकाले विद्यार्थीका लागि पढ्ने वातावरणको व्यवस्था मिलाउनुका साथै दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराईएको बताए ।

प्याव्सन लुम्बिनीका प्रदेश अध्यक्ष लालहरि पाण्डेले राज्यले शिक्षामा विभेद गर्न नहुने बताउंदै सरकारी र नीजि क्षेत्रको विद्यालय र विद्यार्थीलाई हेर्ने दृष्टिकोण समान हुनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशकी पूर्व सांसद पुष्पा थारु, प्याव्सन रुपन्देही अध्यक्ष अनन्तराम शर्मा, पुस्तक व्यवसायी महासंघका पूर्व अध्यक्ष हरि अर्याल, अभिभाक महासंघका केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, स्कुलका प्राचार्य कविराज पौडेल लगायतले आआफ्ना भनाइ राखेका थिए ।
विद्यालयकी अध्यक्ष सुजाता ज्ञवालीको अध्यक्षता, विद्यार्थी हिंमांशी पाण्डे र विशस पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
ग्रामिण क्षेत्रमा सञ्चालित दुर्गा शैक्षिक गृह स्कुलले अध्ययनमा उत्कृष्ट अंक ल्याउने, खेल, संगीत तथा सांस्कृतिक, अन्ुसाति, विभिन्न भेषभुषा झल्कने खालका कार्यक्रममा उत्कृष्ट लगायत अन्य विभिन्न विद्यामा उतकृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
त्यस्तै अनुसासति तथा उत्कृष्ट शिक्षक र कर्मचारीहरुलाई पनि पुरस्कृतका साथै सम्मान गरिएको थियो ।