चर्को व्याज र महंगी भ्रटाचारबिरुद्व नेकपाको बिरोध प्रदर्शन

बुटवल, फागुन ५ गते । नेपाल कम्युनिष्ट पार्टीले बैंकको चर्को व्याज, मिटरव्याजी र महंङी भ्रष्टाचारबिरुद्व देशभर बिरोध प्रदर्शन गरेको छ । विप्लव नेतृत्व नेकपाको केन्द्रिय कार्यक्रम अनुसार शुक्रबार रुपन्देहीको बुटवलमा पनि बिरोध प्रदर्शन गरिएको छ ।
बैंकको चर्को व्याज र मिटरव्याज लगाउनेहरुबाट उद्योगी व्यवसायीदेखि सर्वसाधारण नागरिक मारमा परेकाले त्यसको बिरोधका लागि देशभर बिरोध कार्यक्रम गरिएको सो पार्टीले बताएको छ ।


बुटवलको नयां वसपार्कबाट निकालिएको बिरोध जुलुसपछि आयोजित सभामा बोल्दै नेकपा नेताहरुले बैंकको चर्को व्याज तत्काल घटाउन र मिटरव्याजीहरुलाई नियन्त्रण गरी कारवाही गर्न सरकारसंग माग गरेका छन् ।
उक्त बिरोध सभामा बोल्दै नेकपाका पोलिटव्यूरो सदस्य तथा पूर्वी लुम्बिनी व्यूरो इन्चार्ज प्रज्ज्वल सीले नागरिकले देशमा सरकार भएको अनुभूति नगरेको बताए ।
बैंकको चर्को व्याज घटाएर एक अंकको व्याजदर कायम गर्नुपर्ने बताउंदै एक अंकको व्याजदर कायम नगर्ने बैंकहरुलाई कारवाही गर्ने चेतावनी दिए ।
नेकपा केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज शरद सीले देशमा मंहगी र भ्रष्टाचारले सिमा नाघे पनि सरकारले भ्रष्टाचार गर्नेलाई कारवाही गर्न नसकेको र महंगी नियन्त्रण गर्न नसक्दा जनता मारमा परेको बताए ।
नेकपा रुपन्देहीका सेक्रेटरी बिरेन्द्र सीको सञ्चालनमा भएको बिरोध सभामा बोल्दै घरवहाल सरोकार संघ रुपन्देहीका अध्यक्षले चर्को बैंकको व्याज र घरभाडा घटाउन माग गरेका छन् ।