बुटवलमा चित्रकला कार्यशाला आयोजना

बुटवल, फागुन ८ गते । नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीको आयोजनामा बुटवलमा चित्रकला कार्यशाला भएको छ । बुटवलकोे सुख्खानगरमा रहेको इमेज आर्ट स्टुडियोमा दुई दिवसीय चित्रकला कार्यशाला आयोजना गरिएको हो । रुपन्देही आसपास र काठमाडौंबाट आएका २५ जना कलाकारहरुले इमेज आर्ट स्टुडियोको प्रायोजनमा चित्र बनाएका हुन् ।

चित्रकला कार्यशाला समापन कार्यक्रममा बोल्दै प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सचिव दलबहादुर गुरुङले कला वर्तमान समयको जीवन्त प्रतिविम्व भएको बताए ।
वर्तमानलाई भविष्यसंग जोड्न सक्ने कलाकार र कलामा राज्यको नजर पुग्न नसकेको बताउंदै उनले कला क्षेत्रमा सहयोग गर्न राज्यसंग माग गरेका छन् ।
लेखक तथा साहित्यकार गुरुङले इमेज आर्टलाई बुटवल क्षेत्रको कला घरको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए ।

 
ललितकला प्रतिष्ठानका निवर्तमान प्राज्ञ यमबहादुर थापा मगरले इमेज आर्ट स्टुडियो भएको घरलाई कला ग्यालरीको रुपमा बिस्तार गर्न सुझाव दिए ।
कला मृत्युपछिको जीवन भएकाले पुराना कलाले हाम्रा पुस्ताको वर्तमान अहिले बुझ्ने अवसर मिलेको उनले बताए ।
अरनिको स्मृति प्रतिष्ठानका सचिव एचबी रम्तेलले इमेज आर्ट स्टुडियोमा उल्लेख्य कार्यक्रम भएको बताउंदै आयोजकप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापाको अध्यक्षता र सचिव आरडी रसाइलीको सहजीकरणमा कार्यक्रम भएको हो ।