काठका भांडा तथा ठेकी बनाउने पेशा संकटमा

प्यूठानको नौबहीनी गाउंपालिकाले दियो काठका भांडा बनाउने तालिम

बुटवल, फागुन १२ गते । प्रवृधिको विकाससंगै काठका भांडा तथा ठेकी बनाउने पेशा संकटमा पर्न थालेको छ । संरक्षणको अभाव र पुस्तान्तरण नहुंदा ठेकी बनाउने परम्परादेखिको पेशा संकटमा पर्दै गएको हो । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण काठका ठेकी तथा भाँडाहरु बिस्तारै हराउनसमेत थालेका छन् ।


पछिल्लो समयमा मानिसले गाईभैसी पाल्न छोड्दै गएकाले गोरसका अभावले ठेकीको प्रयोग कम हुंदा पनि काठका ठेकी बनाउने पेशा संकटमा परेको हो ।
काठका भाडा तथा केठी कम प्रयोग हुने र काठ पनि नपाइने भएकाले पनि परम्परागत रुपमा ठेकी बनाउने चुंदाराहरुको पेशा पछिल्लो समय संकटमा परेको हो ।
अहिले प्रविधिको विकासले माग र अपेक्षा अनुसार स्टिलका आधुनिक भाडाहरु प्रयोगमा आउन थालेपछि काठका ठेकी प्रयोग गर्ने चलनसमेत हराईसकेको छ ।
विशेष गरेर दुध, दही, मोही र घिउ राख्नका लागि प्रयोग गरिने गिठी, गुरास, मौवाका ठेकी बनाउने परापूर्व कालदेखिको पेशा हो ।परम्परागत रुपमा गाईभैसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो समय हराउंदै गएको देखिन्छ ।

पहिला– पहिला काठका ठेकी बनाउने काठको बोट बारीका छेउछाउंमा लगाउने चलन थियो । अहिले ति काठका भाडा बनाउने बुटा संरक्षण गर्न पनि छोडिएको छ ।
चुंदाराले कलात्मक रूपमा काठबाट ठेकी, हर्पे, कोशी, आरी, खुर्पेटा लगायतका भाडाहरु चुंदाराले कुुंदेर बनाउंने गर्दथे । खास गरेर गाउंघरमा गाईभैंसीको दूध, दही र घिउ जमाउनका लागि काठका भाँडा प्रयोग गरिन्छ ।
पछिल्लो समय गाउंघरमा काठका ठेकी किन्नसमेत पाइनछोडिसकेको छ । काठका भांडामा राखेको मोही, दुध, दही, घियु खानका लागि स्वादिष्ट हुन्छ, भने स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । गाउंमा पशुपालन गर्ने मानिस घटेपछि काठका ठेकीको प्रयोगमा पनि कमी आएको देखिन्छ ।
काठका भांडा तथा ठेकी बनाउने पेशा लोपजस्तै हुन थालेपछि प्यूठानको नौबहीनी गाउंपालिकाले स्थानीय युवाहरुलाई चुदांराको तालिम दिएको छ ।
बेरोजगार युवालाई रोजगार पनि हुने र नेपाली समाजको परम्परागतको पेशापनि संरक्षण हुने भएकाले काठका भाडा तथा ठेकी बनाउने सीप सिकाउनका लागि तालिम दिईएको गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी गराए ।

नौबहीनी गाउंपालिकाले काठका भांडा बनाउने सीपमूलक तालिम दिएपछि परापूर्व कालदेखिको पेशा नयां पुस्तामा हस्तान्त्रण हुन्छकी भन्ने केही आशा पलाएको प्यूठानका सञ्चारकर्मी हरिप्रसाद भण्डारीले बताए ।