सञ्चालन भएन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

बुटवल, फागुन १३ गते । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको ६ महिना वितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन। गत भदौ ११ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए । ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको कार्यविधि नबनेकाले सञ्चालनमा आउन नसकेको हो ।उद्घाटन समारोहमा सञ्चालनमा ढिलाइ हुन नहुने, कार्यविधि छिटो बन्नुपर्ने कुरा उठेको थियो, तर हालसम्म कार्यविधि बन्न नसक्दा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यक्रमहरु भएका छैनन् ।
भदौमा भएको उद्घाटन समारोहपछि सम्मेलन केन्द्रमा गत पुस १५ र १६ गते रोट्याक्ट क्लबहरुको सम्मेलन भएको थियो। त्यसबेला सरसफाइ, सुरक्षा लगायतको व्यवस्थापन आयोजकले गर्ने गरी रोट्याक्टलाई कार्यक्रम गर्न अनुमति दिइएको थियो। कार्यविधि नबनेको र हलको स्वामित्व कसैले नलिएको अवस्थामा कार्यक्रमको लागि दिन समस्या भएको छ ।
१ अर्ब ११ करोडको लागतमा तयार भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले विजनेस नपाउंदा टाढाबाट फोटो खिच्ने ठाउं जस्तै बनेको छ, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले स्थानीय सरकारलाई चलाउने जिम्मा दिए छिटो सञ्चालन गर्न सकिने बताए । समयमै सञ्चालन नहुंदा परिसर जीर्ण हुन सक्ने र उपकरणहरु विग्रन सक्ने भएकाले छिटो सञ्चालन गर्नुपर्ने मेयर पाण्डेयले बताए ।
शहरी विकास मन्त्रालयले यसको कार्यविधिको मस्यौदा बनाएर सहमतिको लागि अर्थ मन्त्रालयमा पठाएको मन्त्रालयका भवन शाखाका सिनियर डिभिजन इन्जिनियर चन्द्रशेखर महतोले बताए ।
भवन डिभिजन विभागले गत जेठ महिनामा सम्मेलन केन्द्र सञ्चालनका लागि कार्यविधिको मस्यौदा बनाएको थियो। त्यसबेला रायसुझावको आधारमा बुटवल उपमहानगरपालिकालाई सञ्चालन गर्न दिने गरी कार्यविधि बनाइएको र पछि परिवर्तन भएको आयोजना प्रमुख धमेन्द्र पन्थीले बताए ।
सभाहल सञ्चालन सम्बन्धी सरकारले बनाएको मापदण्ड अनुसार ५ सय सिट क्षमतासम्मको सभाहललाई गाउंपालिका वा नगरपालिकाले सञ्चालन गर्न सक्ने छ ।
उपमहानगरलाई ७ सय सिट र महानगरपालिकालाई १ हजार सिट क्षमताको सभाहल सञ्चालनका लागि दिन सकिने सरकारको मापदण्ड छ ।बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य हल १ हजार सिट क्षमताको छ ।