बुटवलका घरधनीले घरभाडा घटाउन थाले– पर्यटन व्यवसायी उत्साहित

बुटवल, फागुन १८ गते । रुपन्देहीको बुटवलमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेका छन् । कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेका थिए । समस्यामा परेपछि होटल तथा पर्यटन व्यवसायीले घरभाडा महंगो भएको भन्दै घरभाडा घटाउन माग गरेका थिए ।
पर्यटन व्यवसायीले घरघाडा छुट तथा घटाउन गरेको मागलाई बुटवलका केही घरधनीहरुले सम्बोधन गरेका छन् ।
बुटवलको ट्राफिकचोक होटल डि लाइट, देउराली होटल सनराइज होटल लगायत दर्जन बढी होटल सञ्चालन भैरहेका घरका घरधनीहरुले भाडा घटाईदिएपछि व्यवसायी खुशी भएका छन् ।

महङो घरभाडा तिर्न र बैंकको व्याजसमेत चलाउनसमेत नसकेका बुटवलका घरधनीहरुले ३० प्रतिशत भाडा घटाईदिएपछि पर्यटन व्यवसायी खुशी भएका हुन् ।
बैंकहरुले व्यवसायीको मर्म नबुझेपनि आर्थिक समस्यामा परेर व्यवसायबाट विस्थापित हुन लागेका व्यवसायीका समस्यमा घरधनीहरुले बुझेको भन्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष समुन्द्र जीसीले धन्यबाद ज्ञापन गरेका छन् ।

महङो भाडा तिर्न नसकेको अवस्थामा असल घरधनीहरुले भाडामा छुट दिएपछि पर्यटन व्यवसायी उत्साहित बनेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यष समुन्द्र जीसीका अनुसार रुपन्देहीको बुटवलमा ठूला, साना गरी सञ्चालित करिव १ हजार होटलमा ३ अर्व बढीको लगानी छ ।