स्वदेशी कच्चा पदार्थमा आधारित उधोगलाई प्राथमिकता– प्रदेश प्रमुख

बुटवल औधोगिक क्षेत्र उधोग संघको साधारण सभा अधिवेशन सम्पन्न

बुटवल, फागुन २६ गते । लुम्विनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालको आर्थिक विकास र औधोगिक विकासका लागि स्वदेशी कच्चा पदार्थमा आधारित उधोगहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । आफु प्रदेश प्रमुख भएपछि रुपन्देही क्षेत्रका औद्योगिक विकासका लागि आवश्यक औधोगिक क्षेत्रको विस्तारका लागि दुबै तहका सरकारलाई ध्यानाकर्षण गराएको प्रदेश प्रमुख शेरचलेको दावी छ ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले राष्ट्रिय उत्पादनमा ध्यान दिन आग्रह गरे ।


प्रदेश प्रमुख शेरचनले राष्ट्रिय उत्पादन र राष्ट्रिय चेतले नै राष्ट्रियता दिगो हुने धारणा राखे ।
उनले हाम्रा परम्परागत उद्योगहरुको अवस्था अझ दयनिय रहेको बताउदै राष्ट्रको विकासका लागि राष्ट्रिय सोंचको विकास पहिलो सर्त रहेको बताए ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका कार्यबहाक अध्यक्ष एजाज आलमले अहिले उद्योगीहरुको अनुहारमा हांसो हराएको स्थिती रहेको बताउदै बढ्दो आर्थिक मन्दीका कारण उद्योगहरु सञ्चालन गरेका उद्योगीलाई बचाउनु पर्नेमा जोड दिए ।

उनले कतिपय सरकारी नीति र व्यवहारले उद्योग क्षेत्र धाराशाही बन्ने अवस्था रहेको बताउंदै सरकारी नीति र ब्यवहार परिवर्तन गर्नुपर्ने बताए ।
आलमले औद्योगिक क्षेत्रभित्र रहेका उद्योग सञ्चालनका लागि व्यवस्थापन लिमिटेडले लिने गरेको भाडा महंगो भएको हुंदा त्यसलाई तत्काल पुनरविचार गर्न आग्रह गरे ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रमा राज्यको लगानी हुनुपर्नेमा जोड दिए ।
संघका पूर्व अध्यक्ष गणेशप्रसाद अधिकारीले औद्योगिक विकासका लागि सबैको चिन्ता र चिन्तन आजको आवश्यक्ता भएको बताउदै पछिल्लो समयमा मुलुकमा देखा परेको आर्थिक मन्दीले उद्योगीहरु धेरै समस्यामा परेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष हिरामणी भट्टराईले स्वागत मन्तव्य राख्दै आर्थिक मन्दीसंगै वैंकको चर्को व्याजको प्रत्यक्ष असर नेपालका उद्योगहरुमा परेको उल्लेख गर्दै पछिल्ला दिनमा बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुको उत्पादनमा करिव ५० प्रतिशत घटेको बताए ।
संघका अध्यक्ष हिरामणी भट्टराईको अध्यक्षता, महासचिव नेत्रनारायण भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख अशोक अर्याल लगायतले बोल्नु भएको थियो ।

अधिवेशनका अवसरमा संघले उद्योगी देवानसिंह थापालाई उत्कृष्ट उद्योगीका रुपमा सम्मान गरेका छ । संघको २१ औं वार्षिक साधारण सभा तथा ११ आंँ अधिवेशनबाट निर्वाचित नयां नेतृत्वले सोही कार्यक्रममा सपथग्रहण गरेको छ ।