रुपन्देहीको तिलोत्तममा रोजगार सूचना मेला

तिलोत्तमा, फागुन २९ गते ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले रोजगार सूचना मेला आयोजना गर्ने भएको छ । बेरोजगार युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले आगमी चैत ४ गते एक दिनका लागि रोजगार सूचना मेला आयोजना गर्न लागिएको हो । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेकाले स्वदेशमै रोजगार सृजना गर्ने उद्वेश्यले तिलोत्तमा नगरपालिकाले रोजगार दाता तथा ब्यवसायिक संघ संस्थाहरुको सहकार्यमा मेला आयोजना गर्न लागेको हो ।

रोजगार सूचना मेलाकै तयारीकै सिलसिलामा नगरपालिकाले तिलोत्तमा उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी ब्यवसायीसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।
उक्त कार्यक्रममा सहभागी उद्योगी ब्यवसायीले रोजगार सूचना मेलालाई सफल पार्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा तिलोत्तमा उद्योग वणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले अहिलेको अवस्थामा उद्योगी ब्यवसायीले रोजगार दिन सक्ने अवस्था नभएपनि रोजगार मेलालाई सफल पार्ने दायित्व उद्योगी ब्यवसायीको भएको बताउनु भयो ।


कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले तिलोत्तमा नगर क्षेत्रका वेरोजगार युवा युवतीलाई स्वदेशमैे रोजगारी दिने नीति अनुरुप रोजगार मेला आयोजना गर्न लागिएको बताउनु भयो । रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशीन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको संयोजक पाठकले वताए ।

संयोजक पाठकका अनुसार रोजगार मेलामा विभिन्न रोजगार दाताका ४० बढि स्टल रहने र मेलामै विभिन्न सिप भएका ब्यक्तिहरुलाई रोजगार दिलाईने छ ।
मेलाका उपसंयोजक रवि सेन्च्युरीले मेलामा सीपमूलक तालिमको अवसरबारे जानकारी, वृत्ति परामर्श सम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराउनुका साथै रोजगारीका लागि सहजीकरण गर्ने वताए ।

संघका महासचिव राजकुमार पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, कृष्णबहादुर गौतम, माधवलाल देवकोटा, उद्योग उपाध्यक्ष सूरज पंगेनी, संघका सदस्यहरु मधुसुदन घिमिरे, शालिकराम वस्ती, रुस्तम कंडेल, बसन्त रोका क्षेत्री, गणेश शर्मालगायतले बोल्दै रोजगार मेलाले रोजागरीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासंग जोड्न सक्नेमा जोड दिए ।