फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण

बुटवल, फागुन २९ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालेको छ ।
नगरपालिकाले पहिलो चरणमा आनन्दवन–शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासंग सहकार्य गरी कम्पोष्टविन वितरण गरेको हो ।
थोरै क्षेत्रफलमा घर निर्माण गरेका नगरबासीलाई लक्षित गरी कम्पोष्टबिन वितरण गर्न थालिएको नगरपालिकाले बताएको छ ।

पहिलो चरणमा खानेपानी संस्थाले १ हजार थान कम्पोष्टविन वितरण गर्ने जनाएको छ । उपभोक्ताको मागको आधारमा थप कम्पोष्टविन वितरण गरिने छ ।
सोमबार कम्पोष्टबिन वितरण कार्यको सुभारम्भ गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले कम्पोष्टविनको व्यवस्थित प्रयोगले फोहोरलाई मोहरमा परिणत गर्न सक्ने बताए ।
वातावरणमैत्री नगर निर्माणमा कम्पोष्टविन वितरणले सहयोग पुग्ने बताउंदै प्रभावकारिताको आधारमा यसलाई विस्तार गरिने नगर प्रमुख खांणले बताए ।
उपप्रमुख जागेश्वरी चौधरीले नगरवासीको हितमा कम्पोष्टविन वितरण गरिएको बताईन ।

आनन्दवन–शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष केशवराज न्यौपानेले कम्पोष्टबिनले उपभोक्तालाई कौशीखेतीमा प्रोत्साहित गर्ने र स्वास्थ्यका लागि पनि फाइदाजन रहेको बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारी, नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख युवराज पन्थी, आनन्दवन शंकरनगर खानेपानी संस्थाका उपाध्यक्षलगायतले कम्पोष्टविनको प्रयोगले सबैलाई फाइदा पुग्नेमा जोड दिए ।

तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियान एक सयौं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार डष्टविन वितरण गरिएको हो ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको हो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन गरिएको छ ।