रुपन्देहीको तिलोत्तममा मानव साङ्लो निकालियो

बुटवल, फागुन ३० गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ ।नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताह व्यापी कार्यक्रम अनुसार मानव साङ्लो निकालिएको हो ।
अयिभानमा नागरवासीको प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताए ।

योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीले एक—आपसमा हात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए ।
मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता,शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए ।


सरसफाई तिलोत्तमाको पहिचान र सभ्याता हो भन्ने कुरामा नगरवासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ ।
सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुराउने प्रतिबद्धता जनाएका थिए ।
मंगलबार नैं मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन गरिएको छ । अभियान १०० औं श्रृंखलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाई स्मारक निर्माण गरिएको हो । स्मारकको नगर प्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।
त्यसक्रममा नगर प्रमुख खांणले सरसफाई अभियानलाई तिलोत्तमाको संस्कार र संस्कृतिसंग जोडेर दीगो बनाइने बताउनुभयो । तिलोत्तमाले बनाएको स्वच्छ र सफा नगरको पहिचानले बसाइसराईको संख्या तीव्र रुपमा बढेको नगर प्रमुख खांणले बताउनुभयो ।उपप्रमुख जागेश्वरीदविी चौधरीले तिलोत्तमावासीको कडा मेहनताका कारण नगरपालिकाले सरसफाईमा विशिष्ट छवि कायम गरेको बताए ।
उनले आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने वानीको विकास गर्न नगरवासीलाई अनुरोध गरिन् ।
तिलोत्तमा नगरपालिकाले २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसंगै नियमित सरसफाई अभियान सुरु भएको हो ।
चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुंदै आएको छ ।

तिलोत्तमा नगरपालिकाले सबै वडाको टोलटोलमा सरसफाई अभियान सक्रियताका साथ सञ्चालन गरेको छ ।