नेपालको जयहोस् गीत बुटवलमा विमोचन

श्यामलाल पोखरेल

   बुटवल, चैत्र १८ गते । रुपन्देहीको बुटवलमा नेपालको जयहोस् भन्ने गीतको विमोचन गरिएको छ । स्वतन्त्र नागरिक समूह नेपालका संस्थापक अध्यक्ष विश्वराज गैरेद्दारा प्रस्तुत गीतको विशेष कार्यक्रमको आयोजना गरी शनिबार बुटवलमा विमोचन गरिएको हो ।

नेपाली सेना मध्ये पश्चिम बुटवलका उपरथी यामप्रसाद ढकालले उक्त गीतको विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकका लागि राष्ट्रियता सबै भन्दा ठूलो विषय भएकाले राष्ट्रियताको पक्षमा वोल्नु र गीत बनाउनु देशको हितमा हुने बताए । उनले स्वतन्त्र नागरिक समूह नेपाले भिज्वलमा वजारमा ल्याएको राष्ट्रभक्ती गीत राम्रो भएको प्रशंसा गर्दै राष्ट्रप्रति सबै नागरिक जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।

 


स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैरेले हरेक कोणबाट कमजोर बन्दै गएको बेला राष्ट्र, राष्ट्रियताको पक्षमा उभिन आमनागरिकलाई सन्देश दिंदै नेपालको जयहोस् भन्ने गीत वजारमा ल्याईएको बताए । उनले यस्ता राष्ट्रप्रतिका गीतहरु समयको माग अनुसार वजारमा ल्याउंदै जाने प्रतिवद्दता जनाए ।
उक्त कार्यक्रममा नागरिक अगुवा तथा अधिवक्ता पदमबहादुर कार्की, शिवपुर माध्यामिक विधालयका प्रअ ज्ञानप्रसाद भट्टराई, नवज्योति अंगे्जी स्कुलका अध्यक्ष जेपी कडेल, गिर्वाण माध्यामिक विधालयका प्रअ केदार पराजुली, जनभावना माध्यामिक विधालयका प्रअ शम्भुप्रसाद पराजुली, कोटियामाई प्राविका प्रअ डिल्लीप्रसाद भण्डारी लगायतले नेपालको जयहोस् भन्ने गीतले सबै नेपाली नागरिकलाई राष्ट्रप्रति सचेत बनाएको बताए ।

स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्वराज गैरेको अध्यक्षता, उपाध्यक्ष दिलबहादुर रानाको स्वागत र महासचिव टोपबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको हो ।
नृत्य निर्देशक कमल राईको निर्देशनमा नेपालको जयहोस गीतको छायांकन रुपन्देहीको बुटवल, लुम्बिनी र पोखरामा भएको हो ।

स्वतन्त्र नागरिक समूह नेपालले बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट छायाकंनको शुभसाइत गरेको थियो । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, रुपन्देहीको शंकरनगरस्थित वनबाटिका, तिलोत्तमाको गिर्वाण माध्यामिक विधालय हुंदै पोखरामा छायाकंन सम्पन्न भएको थियो ।
म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन दिएका छन् । आशिष अविरल र अन्जु पन्तले स्वर दिएका छन् ।राष्ट्र भक्तीको भावनालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ ।

उक्त गीतको शब्द संगीत स्वतन्त्र नागरिक समूह नेपालको रहेको छ र अनिल पहाडीको सहयोग रहेको स्वतन्त्र नागरिक समूह नेपालका महासचिव टोपबहादुर केसीले जानकारी गराए ।स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउंदै गएको देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाईएको हो ।

उक्त गीतको छायांकनमा सहयोग पुराएका नवज्योति अंगे्रजी स्कुल, जनभावना माध्यामिक विधालय , शिवपुर माध्यामिक विधालय, शान्ति नमुना माध्यामिक विधालय, गिर्वाण माध्यामिक विधालयका विधार्थीलाई सम्मान गरिएको थियो ।  विभिन्न विधालयका विधार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै गीतमा मोडल गर्ने रजनी श्रेष्ठ, चांदनी गैरे, सजना अर्याल, नृत्य निर्देशक कमल राई, क्यामरामेन शिव ढकाल, सहायक निर्ते निर्देशक समित गुरुङलगायतलाई समान्न गरिएको छ ।