भ्रामक समाचारप्रति सचेत बन्न आग्रह

बुटवल, चैत्र १९ गते । मिडियाबाट भ्रम फैलाउने खालका सूचना तथा समाचारबारे पत्रकारहरु सचेत हुनुपर्ने सरोकारवालाले बताएका छन् । मिथ्या तथा भ्रामक खालका समाचारहरुले समाजमा गलत सन्देश फैलिने भएकाले समाचार लेख्दा पत्रकारहरुले विवेक पुराउनु पर्ने उनीहरुले बताए । नेपालको संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले पत्रकारिता पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड दिए ।

सेन्टर फर सोसियल ईन्क्लुसन एण्ड फेडेरेसनले आईतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने पत्रकारहरुले पेशागत मर्यादा सबैले पालना गर्नुपर्ने बताए ।
पत्रकार हरिबहादुर थापाले संचारगृहबाट गलत सूचना दिंदा समुदाय र देशमा नै ठूलो हिंसात्मक अवस्था उत्पन्न हुने भएकाले पत्रकारहरु सचेत हुनुपर्ने बताए ।
उनले नेपालमा मिथ्या सूचनाका ऋतिक रोशन काण्ड, नागरिकता लिन लाईन समाचार, एमसिसि काण्ड, २०१८ असोज २९ गते चीनसंग सम्झौता भएको कोदाली राजमार्ग, ढल्केवार–काकडभित्ता सडक खण्ड जस्ता घटनाले भ्रम सिर्जना गरेको उल्लेख गरे ।पछिल्लो समय रवि लामिछानेको १२ भाईको विषय भाष्य परिवर्तन गर्ने उद्देश्यले आएको पत्रकार हरिबहादुर थापाको तर्क छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मिथ्या सूचनाको नियन्त्रण नभई न्यूनीकरण गर्नुपर्ने र त्यसका लागि मूलधारका मिडिया भन्दा सामाजिक संजालमा सबैभन्दा बढी मिथ्या समाचार आउने गरेको बताए ।

उक्त कार्यक्रममा पत्रकार श्यामलाल पोखरेल, अमृता अनमोल, रेखा भुसाल, सिपी खनाल, झविन्द्र देवकोटा, सुदिप भण्डारी, भुवन जीसी, लगायतले बोल्दै मिडियालाई भरपर्दो र मर्यादित बनाउन पत्रकारहरु आफै संवेदनशील बन्नु पर्नेमा जोड दिए ।