गरिवी निवारणमा सहकारीको भूमिका प्रभावकारी, लगानी मैत्री वातावरणमा समस्या

श्यामलाल पोखरेल
बुटवल । गरिवी निवारणमा सहकारीको भूमिका प्रभावकारी रहेकाले उत्पादनको क्षेत्रमा लगानी बढाउनु पर्ने सहकारी अभियान्ताहरुले बताएका छन् । सहकारीहरुमा संकलन भएको वजेट उत्पादन क्षेत्रमा लगाउनुको विकल्प नभएको र त्यसका लागि लगानीमैत्री वातावरण चाहिने सहकारी अभियान्ताहरुको भनाइ छ ।

मुलुकको आर्थिक सम्वृद्विका लागि सरकारले ल्याएको योजना सफल बनाउन पनि सहकारीको लगानी उत्पादन क्षेत्रमा लगाउनु पर्ने उनीहरुको भनाइ छ । होली पर्वको अवसरमा बुटवलमा सञ्चालित सिरसिरे बचत तथा ऋण सहकारीले आयोजना गरेको कार्यक्रममा बोल्ने सहकारी अभियान्ताले लगानीमैत्री नीति ल्याउन सरकारसंग माग गरे । सरकारले लगानीमैत्री नीति ल्याएर सहकारीको लगानी परिचालन गरे मुलुकमा रोजगारको सिर्जना हुने र आर्थिक प्रणाली बलियो बन्ने बताए ।

कार्यक्रममा बोल्दै सिरसिरे सहकारीका अध्यक्ष तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतमले सहकारीको माध्यामबाट मुलुकको आर्थिक सम्वृद्वि सम्भव हुने बताउनु भयो । छोटो समयमा प्रतिफल आउने गरी पर्यटन, कृषि र अन्य उत्पादनमूलक क्षेत्रमा सहकारीहरुले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन र कृषि क्षेत्र नै मुलुकको आर्थिक सम्वृद्विको मूल आधार भएको दावी गर्नुभयो ।

सहकारी अभियान्ता पे्रमलाल गैरेले बैंकको पहुंचमा नागरिकको आर्थिक जीवनस्तर सुधारमा सहकारीको महत्वपूर्ण भूमिका प्रभावकारी रहेकाले नेपालमा गरिवी निवारणको आधार सहकारी पनि हो भन्नुभयो । नियम कानुनको पालना गरेर सहकारी सञ्चालन गरिएको र सहकारीलाई अझै व्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारीले आयोजना गरेको शुभकामना कार्यक्रममा सहकारीका उपाध्यक्ष गोविन्द सुवेदी, कोषाध्यक्ष गिरीराज पोखरेल, संस्थापक अध्यक्ष द्वारीका प्रसाद न्यौपाने लगायतले बोल्नु भएको थियो ।

अध्यक्ष बाबुराम गौतमको अध्यक्षता र सचिव रामकृष्ण शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो । ५ सय शेयर सदस्य रहेको सिरसिरे सहकारीको कुल पूंजी करिव ६ करोड छ । सहकारीले कृषि, पर्यटन, वयवसायिक क्षेत्र र सवारीका साधनमा लगानी गर्दै आएको छ । उत्पादन क्षेत्रमा लगानी बढाउने र सहकारीका सदस्य बढाउने र सदस्यहरुलाई व्यवसायीकमूलक तालिलममा सहभागी बनाइ आत्मनिर्भर बनाउने सहकारीको योजना रहेको सहकारीका सचिव रामकृष्ण शर्माले जानकारी गराउनु भयो ।