रुपन्देहीको कञ्चनमा असार मसान्त अगाडी अब्यवस्थित र भूमिहिनलाई लालपूर्जा दिने तयारी

  बुटवल, चैत्र २९ गते । रुपन्देहीको कञ्चन गाउंपालिकामा अब्यवस्थित वसोबासी र भूमिहिन तथा सुकुमवसीहरुलाई जग्गाधनी पूर्जा दिनका लागि जग्गा नापीकार्य भैरहेको छ । पालिकाको ५ वटै वडामा विभिन्न ब्लकहरुको निर्माण गरी जग्गा नापी कार्यलाई तीव्रता दिइएको प्रवक्ता चित्रलाल तुलाचनले जानकारी गराएका छन् ।
कञ्चन गाउंपालिकामा अव्यबस्थित र भुमिहिनहरुको संख्या करिब १२ हजार बढीको संख्या रहेको छ । गाउंपालिकामा आर्थिक बर्ष २०७७÷०७८ मा लगत संकलनको काम शुरु गरिएको थियो ।

राज्य पुनः संरचनापछि भएको पहिलो निर्वाचित जनप्रतिधिहरुनीधिहरुकै समयमा जग्गाधनी पूर्जा दिने योजनाका साथ अघि बढेको थियो ।
पछिल्लो समय सत्ता परिवर्तनका कारण राष्ट्रिय भुमि आयोगले नियमित काम नर्गदा काम अवरोध भएको हो । गत वर्ष बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिले गरेको प्रतिबद्धता अनुरुप २०७९ जेठ २८ गते कञ्चनमा ड्रोन मार्फत परिक्षणको रुपमा जग्गा नाप्न शुरु गरिएको हो ।

अहिले कञ्चन गाउंपालिकाको जनप्रतिनीधि, कर्मचारी र नापी शाखाका प्राविधिकहरुले स्थलगत रुपमा नापी कार्यलाई तीव्रता दिएका छन् ।
कञ्चनका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टिम वडा वडाको वस्तीमा पुगेर नापीको काम शुरु गरेपछि स्थानीय खुशी भएका छन् ।
लालपूर्जा पाउने आशामा बसोवास गर्दै आएका अव्यवस्थित र भूमिहिनहरु लगत संकलन गर्दा प्राप्त गरेको निस्सा पत्र बोकेर आफ्नो जग्गा नापी गर्नका लागि लागि परेका छन् ।

गाउंपालिकाका अध्यक्ष नवराज ढकालले राजस्व शुल्क कम गराएर मात्र जग्गा धनी पूर्जा वितरण गर्ने योजना रहेको बताए ।
निर्वाचित भएको एक सय दिनमा लालपूर्जा दिने प्रतिवद्वता जनाउनुभएका अध्यक्ष ढकालले संघ र प्रदेशको चुनावका लागि भदौ २८ गतेदेखि आचारसंहिता लागु भएकाले समयमा लालपुर्जा दिन नसकिएको बताए ।

कुनै भवितव्य आइनपरे असार मसान्त अगाडी नै ५ वटै वडाका केही ब्लकहरुको तयार भएको लालपूर्जा वितरण गरिने अध्यक्ष ढकालले आश्वासन दिएका छन् ।
कञ्चनमा अव्यवस्थित तथा भूमिहिनहरुले लालपुर्जा प्राप्त गर्दा तिर्नु पर्ने राजस्वका कारण बढीमा १५ देखि २० प्रतिशतले मात्र लालपुर्जा लिन सक्ने सम्भावना देखिन्छ ।
राज्यले निर्धारण गरेको न्युनतम ८ प्रतिशतदेखि २ सय प्रतिशतसम्म राजस्व तिर्नुपर्ने भएकाले पैसा तिर्न नसक्दा धेरैले लालपुर्जा लैजान नसक्ने अवस्था रहेको छ ।
९ सय ८८ भुमिहिन दलित, २०८१ भूमिहिन तथा सुकुम्वासी र ९,३३२ अव्यबस्थित बसोवासी रहेको कञ्चनमा करिब २५ प्रतिशत मात्र लालपुर्जा भएको जग्गा रहेको छ ।

अध्यक्ष ढकालले ५ वर्ष भित्रमा कञ्चनवासीलाई लालपूर्जा उपलब्ध गराएर आफ्नो योजना पुरागर्ने प्रतिवद्दता जनाए  । अध्यक्ष नवराज ढकालले ४० वर्षदेखि आमोद कमोत गर्दै आएका कञ्चनवासीको अव्यबस्थित जग्गा नाप नक्सांकन गरेर सबैको हातमा लालपूर्जा दिएर उनीहरुको मुहारमा मुस्कान देख्ने आफ्नो इच्छा रहेको र त्यही अनुसार काम गरर देखाउने प्रतिवद्दता जनाएका छन् ।

कार्यपालिकाबाट गर्नुपर्ने सबै काम गरी एक पटकमा ३ देखि ४ वटा ब्लकको काम समपन्न गर्ने र थप नयां ब्लकको नापीका लागि आयोगमा पठाउने कार्यलाई कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीहरुले तयारी गरेका छन् ।