दुध उत्पादनमा कमजोर बन्दै लुम्बिनी

बुटवल, बैशाख ६ गते । दुधमा आत्मनिर्भरको अवस्थामा पुगेको लुम्बिनी प्रदेश अहिले दुध उत्पादनमा खस्केको छ । कोरोना संक्रमण अगाडीसम्म दुधमा आत्मनिर्भरको विन्दुमा पुगेको लुम्बिनी प्रदेश अहिले दुध उत्पादनमा कमजोर बन्दै गएको छ ।
कोरोना संक्रमणबाट प्रभावित भएको दुध तथा डेरी व्यवसाय अहिले आर्थिक मन्दी, बैंकको चर्को व्याज र दानमा भएको मुल्यवृद्वि बाधक बाधक बनेको हो ।
कोरोनाका कारण विस्थापितको अवस्थामा पुगेका दुध उत्पादक कृषक तथा व्यवसायी पछिल्लो समय बैंकको चर्को व्याज, आर्थिक मन्दी, दानमा भएको करिव ६० प्रतिशत मुल्यवृद्वि र बजारीकरणको अभावले लुम्बिनी प्रदेशमा दुध उत्पादनमा कमी आएको कृषि मन्त्रालयका पशु चिकित्सक लोकराज भुसालले बताए ।
लुम्बिनी प्रदेशको रुपन्देही, दाङ, कपिलवस्तुबाट काठमाण्डौ र पोखरामा दुध निर्यात हुने गरेको थियो । पछिल्लो समय भने दुध उत्पादनबाट व्यवसायी निरास हुंदै गएपछि दुध उत्पादनमा कमी आएको व्यवसायीको भनाइ छ ।
लुम्बिनी प्रदेशमा नीजि क्षेत्रबाट दुध उत्पादनका लागि गाई तथा भैसीका फमहरुमा अर्वौको लगानी भएपनि लगानी सुरक्षित छैन ।
उच्च स्तरको दुग्ध प्रशोधन केन्द्र तथा विविधिकरण नभएकाले पनि दुध उत्पादक कृषकहरु समस्यामा परेका छन् ।
दुग्ध सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष पूर्ण तिमिल्सेनाले दुध उत्पादनमा भएको लागत अनुसार कृषकहरुले मुल्य नपांउदा, बैंकको चर्को व्याजले लगानी बढाउन नसक्दा र अचाक्ली रुपमा दानमा भएको मृल्यवृद्विले दुध उत्पादनमा कमी आएको बताए ।
दुग्ध सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले बुटवलमा रहेको सरकारी क्षेत्रको दुग्ध विकास संस्थानको क्षमता निकै कमजोर र परम्परागत शैलीको भएकाले पनि समस्या भएको बताउछन् ।
नेपालमा निजी क्षेत्रबाट डेरी उद्योगहरुमा ३० अर्वको हाराहारीमा लगानी भएको डेरी व्यवसायीहरुले बताउंदै आएका छन् ।