अमेरिकी साम्राज्यवाद विरुद्ध मसालको मेची–महाकाली अभियान

बुटवल, बैशाख १७ गते । नेकपा मसालले अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान सञ्चालन गर्ने भएको छ । नेकपा मसालको पोलिटव्यूरो बैठकले यस्तो निर्णय गरेको हो ।
यही वैशाख १२ देखि १५ गतेसम्म पोलिटव्यूरो बैठक बसेको नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले बताएका छन् ।
महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियानबारे जानकारी गराईएको छ ।
मेची–महाकाली अभियान दुई टोली बनाएर जेठ १ गतेदेखि जेठ १५ गतेसम्म सञ्चालन हुने छ । त्यसमध्ये एक टोली महेन्द्रनगरबाट उद्घाटन भएर बुटवलमा समापन हुने छ भने अर्को टोली बागलुङबाट उद्घाटन भएर काठमाडौँमा समापन हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रेसविज्ञप्तिमा मुख्यतः यही वैशाख १८ गतेदेखि २०८१ वैशाख १८ गतेसम्मका लागि सञ्चालन हुने तीन अभियानको बारेमा जानकारी दिइएको छ । मसालले लेनिनको शताब्दी स्मृतिदिवस, नेकपाको हीरक जयन्ती र पार्टीको नवौँ महाधिवेशन सँगसँगै सञ्चालन गर्दै छ ।

विज्ञप्तिमा वैशाख १३ र १४ गते राष्ट्रिय प्रशिक्षणात्मक भेला पनि सम्पन्न भएको जानकारी दिइएको छ । प्रेसविज्ञप्तिमा पी.बी. को बैठकले ऐतिहासिक तीन अभियानसम्बन्धी प्रस्ताव र तात्कालिक राजनीतिक प्रस्ताव पारित गरेको उल्लेख छ । ती दुवै प्रस्तावहरू राष्ट्रिय प्रशिक्षण भेलाबाट सुझाव सङ्कलन गरेर थप परिमार्जन गरिएको पनि उल्लेख छ ।

प्रेस विज्ञप्ती
“१. यही वैशाख १२–१५ सम्म नेकपा (मसाल) पी.बी. को बैठक सम्पन्न भयो । त्यो बैठकले दुईओटा प्रस्तावहरू पारित गरेको छ ः प्रथम– ऐतिहासिक तीन अभियानसम्बन्धी प्रस्ताव, द्वितीय– तात्कालिक राजनीतिक प्रस्ताव ।

२. प्रथम प्रस्तावअनुसार यही सालको मेदिवसदेखि अर्को सालको मेदिवससम्म ‘ऐतिहासिक तीन अभियान सफल पारौँ, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ’ भन्ने मूल नारासहित ती अभियान सञ्चालन गरिने छ । ती तीनओटै अभियानको सम्मिलित रूपले यही वैशाख १८ गते सबै जिल्लामा उद्घाटन गरिने छ । विभिन्न जिल्लाको उद्घाटन कार्यक्रमका लागि प्रमुख वक्ताहरू पनि ठेगान भइसकेका छन् । तीन अभियानको समापन २०८१ सालको वैशाख १८ गते मेदिवसका दिन गरिने छ ।

३. लेनिनको सन् १९२४ फेबु्रअरी २१ मा मृत्यु भएको थियो भने यही सालको माघ ७ गते उहाँको शताब्दी स्मृतिदिवस पर्दछ । लेनिनको जन्मजयन्तीको दिनमा नै अप्रिल २२, १९४९ मा हाम्रो पार्टीको स्थापना भएको थियो । यही साल वैशाखको ९ गते पार्टीको स्थापना भएको ७५ वर्ष वा हीरक जयन्ती पर्दथ्यो । नेकपा (मसाल) को आठौँ महाधिवेशन २०७६ सालको जेठमा भएको थियो । अब त्यो महाधिवेशन भएको ५ वर्ष लाग्दै छ । उक्त तीनओटै अभियानहरूलाई सामेल गरेर हाम्रो पार्टीले वर्षभरि नै ऐतिहासिक तीन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ती तीन अभियानमध्ये लेनिनको स्मृतिदिवसलाई आइसिओआरले पनि अन्तर्राष्ट्रिय स्तरमा मनाउने ठेगान गरेको छ ।

४. तात्कालिक राजनीतिक प्रस्तावअन्तर्गत खास गरेर वैशाख १० गते चितवन, तनहुँ र बारामा भएका उपचुनावको समीक्षा गरिएको छ । ती चुनावका सन्दर्भमा नेपालमा अमेरिकी साम्राज्यवादको खतरा कसरी गम्भीर बनेको छ ? त्यसबारे मुख्य रूपले चर्चा गरिएको छ । त्यो खतराको गम्भीरतामाथि विचार गर्दै यही सालको जेठ १ गतेदेखि १५ गतेसम्म “अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान” को आयोजना गर्ने निर्णय गरेको छ । त्यो अभियानका सिलसिलामा एउटा टोलीको जेठ १ गते महेन्द्रनगरमा उद्घाटन भएर जेठ १५ गते बुटवलमा समापन हुने छ भने अर्को टोलीको जेठ १ गते बाग्लुङमा उद्घाटन भएर जेठ १५ गते नै काठमाडौँमा समापन हुने छ ।

५. पी.बी. को उक्त बैठकको बेलामा २०८० वैशाख १३ र १४ गते राष्ट्रिय प्रशिक्षण भेला पनि सम्पन्न भएको थियो । त्यो भेलामा ऐतिहासिक तीन अभियान र तात्कालिक राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरिएका थिए । भेलामा ती दुई प्रस्तावमा प्रतिनिधिले दिएका सुझावअनुसार ती प्रस्तावलाई परिमार्जन पनि गरिएको थियो । त्यो भेलामा ऐतिहासिक तीन अभियान र अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानसमेतको कार्यान्वयनबारे पनि विस्तृत रूपले छलफल गरिएको थियो ।

६. ऐतिहासिक तीन अभियानसम्बन्धी र तात्कालिक राजनीतिसम्बन्धी दुबै प्रस्तावका पूर्ण पाठ बेग्लाबेग्लै जारी गरिने छन् । उक्त अभियानमध्ये पहिला दुईटा अर्थात् ऐतिहासिक तीन अभियान र पार्टीको हीरक जयन्तीअन्तर्गत देशव्यापी रूपमा कैयौँ सभा, जुलुस, अन्तक्र्रिया, विचारगोष्ठी, सङ्गठनात्मक विस्तार र सुदृढीकरण, विभिन्न प्रकाशन, सांस्कृतिक कार्यक्रम, प्रशिक्षण आदि कार्यक्रमको आयोजना गरिने छन् । नवौँ महाधिवेशनको सिलसिलामा सदस्यताको अद्यावधीकरण, दस्तावेजको प्रकाशन, फोरमको सञ्चालन, जिल्ला सम्मेलन, प्रतिनिधिको चुनाव, महाधिवेशनमा दस्तावेजमाथि छलफल र अन्तमा केन्द्रीय समिति र नेतृत्वको चुनाव आदि कार्य सम्पन्न गरिने छन् । उक्त तीनओटै कार्यक्रमको मुख्य उद्देश्य नेपालको अहिलेको कम्युनिस्ट आन्दोलनको विद्यमान अवस्थामा क्रान्तिकारी रूपान्तरण गर्नु नै हुने छ । बताइरहनुपर्ने आवश्यकता छैन कि उक्त कार्यक्रममध्ये महाधिवेशनसम्बन्धी कार्यक्रम पहिले सधैँ झैँ गोप्य रूपले नै सञ्चालन गरिने छन् र महाधिवेशन सम्पन्न भएपछि नै त्यससम्बन्धी समाचार सार्वजनिक गरिने छ ।

७. माथिका सबै कार्यक्रमको सञ्चालनका लागि हामीलाई ठुलो मात्रामा आर्थिक आवश्यकता पर्ने छ । त्यसका लागि हाम्रो पार्टीले आर्थिक अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ । त्यो आर्थिक अभियानमा बढीभन्दा बढी सहयोग जुटाउन हामीले पार्टी, वैधानिक मोर्चा, जनवर्गीय सङ्गठनका सबै सदस्य, समर्थक, शुभेच्छुक र आम जनतासमेत सित सहयोगका लागि अपिल गर्दछौँ ।

८. अन्तमा, कतिपय व्यावहारिक कारणले हामीले २०८० सालमा पर्ने पार्टीको हीरक जयन्तीलाई भव्य रूपले मनाउन सकेनौँ तैपनि पार्टीको हीरक जयन्तीलाई हामीले वर्षभरि नै मनाउने छौँ र २०८१ को वैशाख १० गतेको समापन कार्यक्रमलाई हामीले भव्य रूपले मनाउने जानकारी गराउँछौँ र त्यसका लागि अहिलेदेखि नै तयारी गरेर गर्दै जाने छौँ ।”