होटल तथा पर्यटन व्यवसायीले गरे घरघनीलाई सम्मान, घरभाडा छुट पाएपछि खुशी

 बुटवल, बैशाख २६ गते । होटल तथा रेष्टुरेष्ण्ट व्यवसायी संघ रुपन्देहीले घरभाडा छुट गर्ने घरधनीलाई सम्मान गरेको छ । बुटवलका १४ जना घरधनीले होटल सञ्चालनका लागि घरभाडा छुट दिएपछि होटल तथा पर्यटन व्यवसायीले घरधनीहरुलाई सम्मान गरेका हुन् ।
कोभिड र आर्थिक मन्दीका कारण व्यवसाय नचलेको भन्दै होटल पर्यटन व्यवसायीले चर्को घरभाडा र चर्को बैंकको व्याज घटाउन माग गर्दै आएका थिए ।

बैंकहरुले व्याज छुट नगरेपनि घरधनीहरुले घरभाडा छुट गरेपछि होटल तथा पर्यटन व्यवसायीले विशेष कार्यक्रमको आयोजना गरी संस्थागत रुपमा घरधनीहरुलाई सम्मान गरेका हुन् ।
१२ प्रतिशतदेखि ४० प्रतिशतसम्म घरभाडा छुट तथा घटाइ दिएका घरघनीहरुलाई मंगलबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले होटल तथा पर्यटन व्यवसायीदेखि सबै क्षेत्रका व्यवसायीका समस्याप्रति उपमहानगरपालिका चिन्तित् रहेको बताए ।


प्रदेश राजधानी सरेपछि बुटवलको चलायमान कमजोर हुंदा पर्यटन व्यवसायी समस्यामा परेको र त्यसैमाथि आर्थिक मन्दीले सबै क्षेत्रका व्यवसायी समस्यामा परेको उनले बताए ।
उज्यालो बुटवल बनाउन सडक व्यवस्थित गरिने प्रतिवद्वता जनाउंदै उनले भने– खानेपानी र सरसफाईको उचित व्यवस्थापन गरिने र अन्य सुधारका सबै काम गरिने छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवललाई पुरानै लयमा फर्काउन बुटवललाई पर्यटकीय विश्राम स्थलका रुपमा विकास गर्नुपर्ने बताए ।
उनले बुटवललाई चलायमान बनाएर पुरानै लयमा फर्काउन नीजि क्षेत्र र स्थानीय सरकारवीच सहकार्य हुनुपर्ने बताउंदै बुटवललाई चलायमान बनाउन पर्यटन व्यवसायी सबैसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिवद्वता जनाए ।

 

घरभाडा छुट दिने घरधनीहरु –
दिलदार मियां, सुन्दर खनाल, अमृत काफ्ले, धर्मम एस.के, रामप्रसाद ज्ञवाली, नरेश श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, केशव भुसाल, वसीर वली, पिताम्वर पौडेल, गोमा सापकोटा, भरत पुरी, हरि कार्की र अन्य एक जना …. ।

उनले व्यवसायी कर छुटको माग गर्दै सबै घरधनीहरुलाई भाडा छुट गर्न आग्रह गर्दै बुटवललाई चलायमान बनाउन बुटवलका सबै घरधनीहरुको दायित्व हो भने ।
पर्यटन व्यवसाय फस्टाउंदा साथ बुटवल चलायमान बन्ने अध्यक्ष भण्डारीको भनाइ छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका निःवर्तमान अध्यक्ष रामप्रसाद गौतमले कोभिड र आर्थिक मन्दीले सबै व्यवसायी संकटमा परेको बताए ।
नेपाल घरवहाल सरोकार संघ बुटवलका अध्यक्ष राजु लिगलले आर्थिक मन्दीसंगै चर्को बैंकको व्याज र घरभाडाका कारण व्यवसायी विस्थापित हुनै लागेको बेला केही घरधनीहरुले घरभाडामा छुट दिंदा पर्यटन व्यवसायीको मनोवल बढेको बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी बालाराम भट्टराई, मुरारी पाण्डेय, घरधनी धर्म एसके लगायतले बोलेका थिए  ।
संघका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता, महासचिव अर्जुन थापाको सञ्चालन र वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालको स्वागतमा कार्यक्रममा होटवल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले प्रकाशन गरेको भित्ते पात्राको विमोचन गरिएको हो ।

बुटवलका केही घरधनीहरुले घरभाडा छुट दिएपछि होटल तथा पर्यटन व्यवसायी खुशी भएका छन् । बुटवलका पर्यटन व्यवसायीले सबै घरधनीलाई घरभाडा छुट गर्न आग्रह गर्दै स्थानीय सरकारलाई व्यवसायिक करमा ५० प्रतिशत छुट गर्न माग गरेका छन् ।