अर्घाखांचीमा आगो निभाउंदा जलेर घाइते भएका चार जनाको मृत्यु

 दिपक बस्नेत

अर्घाखांची, बैशाख २७ गते । अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको हो ।
घाइतेमध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं लैजादै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गएराती १० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा आज विहान ७ बजे निधन भएको हो ।

आगो निभाउने क्रममा जलेर घाईते अस्मिता बेल्बासेको मिसन अस्पतालमा उपचार भइरहको स्थानीय गोविन्द खनालले जानकारी गराएका छन् ।