बुटवलका ट्यांकर व्यवसायी चोपनारायण कारवाहीमा

बुटवल, जेठ ५ गते । बुटवलका ट्यांकर व्यवसायी चोपनारायण श्रेष्ठ फेरि कारवाहीमा परेका छन् । पेट्रोलियम पदार्थको तस्करीमा संलग्न भएको आरोपित ट्यांकर व्यवसायी चोपनारायण श्रेष्ठ फेरी कारवाहीमा परेका हुन् ।
लकिङ प्रणाली जडान भएकै एक्सप्रेस परिवहन सेवा प्रालिको ट्यांकरबाट पेट्रोल तस्करी गरेको पाईएपछि श्रेष्ठले भैरहवा भन्सार कार्यालयलाई २९ लाख बढि रकम धरौटी बुझाएका छन् ।
श्रेष्ठ एक्सप्रेस परिवहन सेवा प्रालिका संचालकसमेत हुन् । सोही प्रालीको लु २ ख ४८३९ नम्बरको ट्यांकरले गत बैशाख ८ गते भारतीय आयल कर्पोरेसन आईओसीको बेतालपुरस्थित डिपोबाट स्वीकृत पीडिओ २० किलोलिटर भन्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल भेटिएको थियो ।
चोरी तस्करी गरी स्वीकृत परिमाणभन्दा बढि पेट्रोल ल्याएको भेटिएपछि बेलहिया भन्सार कार्यालयले २९ लाख ६ हजार ८० रुपैयां धरौटी लिएर ट्यांकर संचालक श्रेष्ठलाई छोडिएको हो ।
ट्यांकर चालक अजय केसीले भने धरौटी बुझाउन नसकी प्रहरी हिरासतमा रहेको रुपन्देही प्रहरीले बताएको छ । भन्सार कार्यालयले चालक केसीलाई २८ लाख ५६ हजार ८० रुपैयां धरौटी माग गरेको थियो । नेपाल आयल निगम भलवारी डिपोका प्रमुख जगदिश चन्द्र यादवका अनुसार निगमले ट्यांकर चालकलाई सधैका लागि ट्यांकर चलाउन र सम्बन्धित ट्यांकरलाई तीन महिनासम्म तेल ढुवानी गर्न बन्देज लगाएको छ ।

विगतमा पनि इन्धनमा चोरी तस्करी र चुहावट हुने गरेको पाईएपछि आयल निगमले चोरी तथा चुहावटलाई रोक्न भन्दै लकिङ प्रणाली जडान गरेको थियो ।
लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट इन्धन तस्करी भएपछि अनुसन्धानको विषय बनेको छ । अहिले नियन्त्रणमा लिईएको ट्यांकरलाई बेलहिया भन्सार कार्यालयमा राखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ७ वर्ष पहिले श्रेष्ठ विरुद्ध सर्वोच्च अदालतमा मेत मुद्धा दायर गरेको थियो । उक्त मुद्धाको अन्तिम किनारा नलागेको अवस्थामा फेरी श्रेष्ठकै ट्यांकर पेट्रोल तस्करीको आरोपमा कारवाहीमा परेको हो । श्रेष्ठकै ट्यांकर विगतमा पनि तस्करीमा संलग्न भएको पाइएपछि कारवाहीमा परेका थिए ।

पटक–पटक कारवाहीमा परेका ट्यांकर व्यवसायी श्रेष्ठका कारण अन्य ट्यांकर व्यवसायीलाई समाजले हर्ने दृष्टिकोण नकरात्मक बनेको बुटवलका एक व्यवसायीले बताए ।
वितदेखि नै व्यवसाय गर्दा चोपनारायण श्रेष्ठको व्यवहार राम्रो नभएको उनले बताए ।