स्कुलहरुलाई गाडी भाडा घटाउन अभिभावक संघको माग, नघटाए आन्दोलन गर्ने चेतावनी

बुटवल, जेठ ५ गते । अभिभावक संघ रुपन्देहीले स्कुलहरुलाई गाडी भाडा घटाउन माग गरेको छ । नेपाल आयल निगमले डिजेलको मूल्यमा प्रति लिटर १० रुपयां घटेकाले गाडी भाडा घटाउनु पर्ने अभिभावक संघले बताएको छ ।
पेट्रोलियम पदार्थको मुल्य घटेपनि स्कुलहरुले गाडी भाडा नघटाएको अभिभावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले बताएका छन् ।
अध्यक्ष ज्ञवालीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै डिजेलको मूल्य घटेसंगै सार्वजनिक यातायातको गाडी भाडासमेत घटाइएको तर स्कुलहरुले भने गाडी भाडा नघटाएर आर्थिक मन्दीका बेला अभिभावकमाथि भार थोपर्ने काम गरेको भन्दै आपत्ती जनाए ।
मुलुक नै आर्थिक मन्दीको चपेटाबाट गुज्रिरहेको बेला अभिभावकलाई राहत र सहुलियत प्रदान गर्नुपर्नेमा उल्टै आर्थिक भार थोपर्ने कामले स्कुलकोे पनि हित नहुने विज्ञप्तीमा उल्लेख छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्वि हुंदा भाडा बढाउने र मूल्य घट्दा सोही अनुपातमा भाडा घटाउनु पर्ने विज्ञप्तीमा भनिएको छ ।
स्कुलहरु भाडा घटाउन छाडेर अभिभावकसँग सवारी भाडाका नाममा चर्को शुल्क असुली गरेको पाइएकाले यसतर्फ सबै स्कुलप्रति ध्यानाकर्षण अभिभावक संघ रुपन्देहीले बताएको छ ।
स्कुलहरुले लामो बिदाका बेलामासमेत यातायात लगायतको शुल्क मागेको भन्दै अभिभावकहरुको गुनासो र असन्तुष्टीलाई सम्बोधन गर्न स्कुलहरुसंग माग गरिएको छ ।
स्कुलहरुले लामो बिदाका बेलाको समेत गाडी भाडा लिने गरेको र यसले विद्यालय सञ्चालकहरु मोटाउने र अभिभावकलाई आर्थिक भार बढिरहेको भन्दै यसतर्फ सचेत रहन अभिभावक संघले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।
सरकारले जारी गरेको मापदण्डको आधारमा विद्यार्थीको अवस्था र पहुंच अनुसार पढाउन र त्यसैका आधारमा शुल्क लिने व्यवस्था गर्न पनि संघले माग गरेको छ ।
त्यस्तै नयां शैक्षिक सत्र सुरु भएको एक महिना बित्दा पनि सबै पाठ्यपुस्तकहरु उपलव्ध नभएको भन्दै संघले विज्ञप्तीमा सबै पाठ्यपुस्तक यथाशीघ्र उपलव्ध गराउन माग गरेको छ ।स्थानीय पाठ्यपुस्तक पनि कतिपय विद्यालयले उपलव्ध नगराएको अभिभावक संघ रुपन्देहीले बताएको छ ।
अभिभावकका गुनासो स्कुलहरुले सम्बोधन नगरे दवावमूलक कार्यक्रम गरिने विज्ञप्तीमार्फत अभिभावक संघ रुपन्देहीले चेतावनी दिएको छ ।
गाडी भाडा अनिवार्य घटाउनु पर्ने र त्यसका लागि सबै अभिभावकलाई सचेत रहन अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले आग्रह गर्दै उनले भनेका छन् – हाम्रो आग्रहलाई स्कुलहरुले नसुने आवश्यक अनुसार भाडा नघटाउने स्कुलहरुका विरुद्व आन्दोलन गरिने छ ।