‘केन्द्रिय राजनीतिले प्रदेश राजनीति निर्देशित हुनेछ’

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामीला तथा कानुन मन्त्री कुल प्रसाद केसीले केन्द्रिय राजनीतिले प्रदेश राजनीति निर्देशित हुने बताएका छन् । सरकार परिवर्तनका बारेमा खुलेर अभिव्यक्ती नदिएका मन्त्री केसीले सरकारको खेलमा नलागेको बताए । संघमा सरकार परिवर्तन भए त्यसको प्रभाव भने प्रदेश सरकारमा देखा पर्ने उनको भनाई छ ।
आइतबार बुटवलमा रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले अहंकार र दम्वले देशको राजनीति आफ्ठारो मोडमा रहेको भन्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सचेत रहन आग्रह गरे ।
उनले संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रिय राजनीति तल्लो तहसम्म हावी रहेको दाबी गरे ।
प्रदेशमा मिडियाका समस्या समाधानका लागी तीन प्रकारले वर्गीकरण गरेर काम गर्ने योजना रहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारिता,सामुदायिक संचार र पत्रकार सम्वद्ध संघसंस्थाहरुलाई छुट्टाएर काम गर्ने तयारी भइरहेको जानकारी दिए । मुलुकको यो अस्थिर अवस्थामा मिडियाको अहम भुमिका रहेको बताउदै नवनिर्वाचित पदाधकारीहरुलाई जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारसगँ सहकार्य गरेर पत्रकारका मुद्धाहरुलाई समाधान गर्ने बताए । प्रदेश सरकारको गुरुयोजना भित्र पत्रकार महासंघको भवन निर्माण गर्न पहल गर्ने बताए ।
त्यस्तै रुपन्देही पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल पत्रकार सबैको जीत भएकोले सबैले अपनत्व हुने गरी पत्रकार महासंघ अघि बढ्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष अमृता अनमोलले सबै पत्रकारको क्षमता बृद्धि गर्न विशेष पहल गर्ने बताइन।