आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत

बुटवल, जेठ १५ गते । सरकारले आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट प्रस्तुत गरेको छ । सरकारका अर्थमन्त्री प्रकाशसरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि करिब १७ खर्बको बजेट प्रस्तुत गरेका हुन् ।

कृषि, पर्यटन र उद्यमशीलतालाई प्राथमिकता दिएको बजेटले अनुत्पादक खर्च कटौती गर्दै उत्पादन क्षेत्रमा लगानी बढाउने लक्ष्य लिएको छ ।
सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले खर्च कटौतीका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरेका छन् ।

बजेटमा २० वटा संस्थानलाई खारेज गरिएको छ ।
सरकारले आगामी वर्ष नयां भवन निर्माण नगर्ने र सवारी साधन खरिद नगर्ने नीति अगाडी सारेको छ । विदेशी मुद्रा आयात नहुंदा आर्थिक समस्या बढ्दै गएको उल्लेख गर्दै आगामी वर्ष नदिजन्य पदार्थको उत्खनन् गरि निर्यात गर्ने र गांजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख गरिएको छ ।

बजेटमा जग्गाको कित्ताकाट खुलाईएको छ । २५ लाख सम्मका सडकहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने उल्लेख छ । बजेटमा सिद्धबाबा सुरुङमार्ग निर्माणलाई तीव्रता दिईने, कर्साघाट कृषि उपज केन्द्र निर्माण सुरु गरिने, तीनाउ नदीमा सिग्नेचर पुल निर्माण गरिने, बुटवल गोरुसिंगे सडक विस्तार गरिने, भैरहवाको विशेष आर्थिक क्षेत्र सेज पूर्णरुपमा संचालनका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै बुटवल– नारायणगढ सडकको निर्माणलाई तीव्रता दिईदै आवश्यक बजेट विनियोजन गरिने अर्थमन्त्री महतले बजेट प्रस्तुत गरेका छन् ।  बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको निर्माणको कामलाई अगाडी बढाउने बजेटमा उल्लेख गरिएको छ ।