बुटवलको सुनौलो सहकारीका सञ्चालक तथा कर्मचारी प्रहरी नियन्त्रणमा

 बुटवल, जेठ १७ गते । बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले सहकारीका सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई मंगलबार राती नियन्त्रणमा लिएको हो ।

बचत कर्ताहरुले मंगलबार राती सहकारीको करिव ६० लाख हिनामिना गरेको आरोप लगाउंदै सहकारी घेरेपछि बुटवलको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय रामनगरका अनुसार नियन्त्रण लिएका सिर्जना तामाङ र आर्यन क्षेत्री सहकारीका कर्मचारी र सञ्चालक दुवै भएको बताएको छ ।
बचत कर्ताहरुको करिव ६० लाख सहकारीले हिनामिना गरेको बचत कर्ताहरुको आरोप छ । तर कति हो भन्ने अझै खुलेको छैन ।

बचत कर्ताहरुको आरोप जस्तै गरी हिनामिना भएको ६० लाख हो वा त्यो भन्दा बढी वा कम के कती हो ? यो समाचार तयार पार्दसम्म प्रष्ट हुन सकेको छैन । यस विषयमा आज छलफल गरिने बताईएको छ ।

बचत कर्ताहरु बढी आक्रोशित भएर सहकारी घेरेपछि घटना घट्न सक्ने सम्भावना देखेर उनीहरुलाई नियन्त्रणमा लिएर सुरक्षित राखिएको रामनगर वडा प्रहरी कार्यालयले बताएको छ ।
सुनौलो सहकारी जिल्ला सहकारी संघ रुपन्देहीमा दर्ता नभएको जिल्ला सहकारी संघका सदस्य गंगालाल सापकोटाले जानकारी गराएका छन् ।
सुनालो सहकारी बुटवल बाहिरबाट आएर सञ्चालन गरिएको बताईएको छ ।