गर्मीका कारण विद्यालय बन्द गर्न अभिभावक महासंघको आग्रह

   बुटवल, जेठ २० गते । नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेशले तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढसंगै जनजीवन प्रभावित भएको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

केही दिन यता बढेको अत्याधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय जान आउन पनि समस्या भएको र कक्षा कोठामा बसेर अध्ययन गर्न पनि कठिनाई भएको हुंदा केही समय विद्यालय बन्द गर्न अभिावक महासंघले गर्न आग्रह गरेको हो ।

नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले शनिवार एक विज्ञप्ति जारी गरी केही दिनदेखि तराईका जिल्लाहरुमा ४० डिग्री भन्दा माथि तापक्रम पुगेको र अझ बढ्नेक्रम रहेकाले स–साना बालबालिकालाई घरबाट विद्यालय जान र विद्यालयबाट घर फर्कनसमेत समस्या भएको अभिभावकबाट गुनासो आएको भन्दै विद्यालय बन्द गर्न विज्ञप्तीमार्फत आग्रह गरेका छन् ।

तराई क्षेत्रमा केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा पठन– पाठनका क्रियाकलाप सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको र विद्यार्थीमा घाउघटिरा, झाडापाखाला जस्ता मौषमजन्य रोगहरु पनि देखिने जोखिम धेरै रहेकाले ख्याल गर्न विज्ञप्तीमार्फत अभिभावक महासंघले विद्यालयहरुलाई आग्रह गरेको छ ।
बढ्दो गर्मीका कारण जिल्लाका केही विद्यालयहरु बन्द गरिपनि धेरै विद्यालय सञ्चालनमा रहेकाले तत्काल केही दिन पठन– पाठन बन्द गर्न अभिभावक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हेम थापाले विद्यालयहरुलाई आग्रह गरेका छन् ।

रुपन्देहीलगायत लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा उच्च गर्मीका कारण झाडा पखला, उच्चज्वरोका बिरामीहरूको संख्या बढेको अस्पतालहरुले जनाएका छन् ।
गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

तराईमा लुचल्न थालेको भन्दै स्वाश्थ्य मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।