कोरोना महामारी : तिलोत्तमाका जनप्रतिनिधि चढ्ने गाडी नै एम्बुलेन्स

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाउनु भएको छ । संक्रिमतको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्र पर्याप्त नभएपछि नगर प्रमुख र उप—प्रमुखले आफूहरुले चढ्दै आएका दुई वटा गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउनु भएको हो ।

तिलोत्तमा नगरपालिकामा हाल आफ्नै मातहतमा दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । नगर प्रमुख र उप—प्रमुखले चढ्ने दुई गाडी समेत गरी अब चार वटा सवारीसाधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन् । छिटो छरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याइएको नगर प्रमुख घिमिरेले बताउनुभयो । आज नगर प्रमुख र उप—प्रमुखले आफूले चढ्ने गाडीको चावी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गर्नुभयो ।

कोरोना महामारीको विकराल रुप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उप—प्रमुख चौधरीले बताउनुभयो । संक्रमितलाई अन्य साना सवारीसाधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपुर्याउँदा समस्या बढ्दै गएको पाइएकोले यो निर्णय गरिएको नगर प्रमुख र उप—प्रमुखको भनाइ छ । नगर प्रमुखले प्रयोग गर्ने लु. १ झ. ३६० र उप—प्रमुखले प्रयोग गर्ने लु. १ झ. ३२६ नंबरको स्कारपियो आजैदेखि कोरोना संक्रमितलाई बोक्न प्रयोगमा आएका छन् । यस्तै नगर प्रहरीले प्रयोग गर्ने लु. १ झ ४७२ पनि कोरोना व्यवस्थापनमैं प्रयोग हुनेछ । यी सवारीसाधनलाई समेत २४ सैं घण्टा सेवा प्रवाह गर्नेगरी स्टाण्डवाई अवस्थामा राखिने स्वास्थ्य शाखाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारीसाधन स्वास्थ्य शाखामार्फत् परिचालित हुनेछन् । ‘हामीले जनताकैं काम गर्न जनताकैं करले किनेका गाडी चढेका हौं । अहिले परिस्थिति असामान्य छ । कोरोनाका बिरामीलाई जोकोहीले बोक्न मान्दैनन् । यसैले जनताकैं सम्पत्ति जनताकैं सेवामा लगाउने निष्कर्षमा पुगेका हौं ।’ नगर प्रमुख घिमिरेले भन्नुभयो, ‘केही दिन हामी साईकलैं चढेर हिँडे पनि फरक पर्दैन । सवारीसाधनको अभावमा समयमैं अस्पताल वा आइसोलेशनमा पुर्याउन नपाउँदा कुनै नगरबासीको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’

यी सवारीसाधनले मूलतः नगरपालिका भित्रका कोरोना संक्रमितलाई घरबाट अस्पताल वा आइसोलेशन तथा अस्पताल वा आइसोलेशनबाट बिरामीको घरसम्म पुर्याउनेछन् । नगर प्रमुख र उप—प्रमुखका सवारीसाधन चलाउने चालक स्थानीय सडक सञ्जालसँग परिचित रहेकोले सेवा प्रवाह थप छिटो छरितो हुने जनाइएको छ ।

तिलोत्तमा नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिनेगरी आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । यस्तै वडा नं. ९ मा रहेको सभाहलमा थप ६० बेडको आइसोलेशन गराउने गरी काम अघि बढाएको छ । यस्तै नगरपालिकाले कोरोना संक्रमणको जोखिममा रहेकाहरुको शंकरनगरमा हरेक दिन एन्टिजिन परीक्षण गर्दै आएको छ । आइसोलेशनमा एक चना चिकित्सकसहित नर्सलगायतका स्वास्थ्यकर्मी रहेका छन् ।

तिलोत्तमा नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ जना नर्सलाई समेत कोरोना संक्रमितको उपचारमा खटाएको छ । तिलोत्तमा नगरपालिकामा वैशाख १५ यता कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा हालसम्म सक्रिय संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ ।